नेविसंघ पूर्व संयोजक कोईरालाले भने–‘आन्दोलनको क्रममा कास्कीमा गाडी जलाउनु दुखद्’

Share:

बिग न्यूज पोखरा, २० माघ । नेविसंघ कास्कीका पुर्वसभापति सहितको विद्यार्थी नेताको टोलीले शनिबार पोखरा महानगरपालिकाको गाडी जलाए । बिदाको दिनमा सरकारी गाडी चलाएको भन्दै आन्दोलनरत नेविसंघका कार्यकर्ताहरुले गाडीमा आगो लगाएका थिए । नेविसंघले गाडी जलाएसँगै यो विषयलाई लिएर यतिबेला सर्वत्र आलोचना भैरहेको छ ।

यसैबीच नेविसंघ कास्कीका पुर्व सँयोजक समेत रहेका नेपाली काँग्रेसका युवा नेता सुवास कोईरालाले गाडी जलाउनु निकै दुखद् भएको बताए । प्रजातान्त्रिक मान्यता राख्ने पार्टीका कार्यकर्ता भएर अभद्र शैलीले आन्दोलनमा उत्रिँदा पार्टीको चरित्र धुमिल हुने उनले बताए ।

‘आन्दोलन गर्ने हो । र, आन्दोलन गर्दा कुन हदसम्म जाने भन्ने कुरा सबैले बुझ्न जरुरी छ । क्षणीक आवेशमा आएर गाडी जलाउनेसम्मको हर्कत गर्नु संगठनकै लागि फलदायी कुरा होईन ।’ नेता कोईरालाले भने ।

कोईरालाले अबका दिनमा आन्दोलनका क्रममा संयमित भएर लाग्न नेविसंघ र तरुण दलका युवाहरुलाई आग्रह समेत गरेका छन् । प्रजातान्त्रिक सिद्धान्त बोक्ने पार्टीका कार्यकर्ताले शान्तिपुर्ण आन्दोलन गर्नुपर्ने उनको धारणा छ ।

साथै उनले अहिलेको सरकारको रवैयाले गर्दा नै नेविसंघका कार्यकर्ताहरु आक्रोशित बनेकोले घटनाको जिम्मेवारी उसले पनि लिनुपर्ने तर्क अगाडि सार्छन् । साथै आगामी दिनमा नेपाली काँग्रेसको आन्दोलन शान्तिपुर्ण र थप दबाबमुलक बनाएर अगाडि बढ्ने उनले बताए । आन्दोलनलाई सकेसम्म दबाबमुलक बनाउन नयाँ तरिका अपनाईने उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: