पर्वतमा १ सय ८५ वर्ष पुरानो नृसिंह शालिग्राम चोरी, नगद सहितको दानपेटिका पनि गायब

Share:

फागुन ५, पर्वत । पर्वतको मोदीवेनी धामस्थित नृसिंह मन्दिरमा शनिबार राति पुरातात्विक महत्वका शालिग्राम चोरी भएको छ । कालीगण्डकी तटमा रहेको मन्दिरमा विश्वमा नै दुर्लभ मानिएका नृसिंह  शालिग्रामसमेत राखिएको थियो । नृसिंह (सिंह आकृतिको) शालिग्राम राखेर नै उक्त मन्दिरको नामाकरण भएको थियो ।

योसँगै मन्दिरमा राखिएका अन्य ४८ शालिग्राम पनि चोरी भएका छन् । एक अभिलेख अनुसार नृसिंह शालिग्राम १ सय ८५ वर्ष पुरानो हो । यी सबै शालिग्राम उत्तिकै पुराना छन् । मन्दिरमा राखिएको दानपेटिका पनि नगदसहित नै चोरिएको छ भने शालिग्राममा जल चढाउने पुरानो शंख पनि चोरहरुले लगेका छन् । बाँकी ११ वटा शिलाहरु भने मन्दिरमा नै छन् ।

मन्दिरमा चोरी भएको घटना बिहान साढे ४ बजेमात्रै थाहा भएको त्यहाँ नियमित पूजाआजा गर्ने पुजारी टिकारामदास वैरागीले बताए । एक अभिलेख अनुसार यो मन्दिरको स्थापना विं. सं १९८० मा भएको हो । विश्वमै नपाइने अनौठा शालिग्रामहरु यो मन्दिरमा अभिलेख गरिएका थिए ।

सिंह आकारको शालिग्राम राखेर नृसिंह मन्दिर निर्माण भएपछि सुरुदेखि नै यस मन्दिरमा वैरागी सम्प्रदायले पूजाआजा गर्दै आएको छ । विष्णु भगवानको चौथो अवतार मानिने नृसिंहसँगै त्यहाँ शिव, गणेश र हनुमानको समेत मन्दिर रहेको छ । चोरहरुले शिला चोर्ने क्रममा मन्दिरको गेट फोर्दा फलामे औजार प्रयोग गरेको भेटिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: