
फागुन ६, पोखरा । रामसारमा सूचिकृत कास्कीको रुपाताल संरक्षणका लागि बाँध निर्माण गरिने भएको छ । पानी सञ्चित गराई तालको वास्तविक क्षेत्रफल सहित थप जग्गा अधिग्रहण गरी आयतन बढाउन परियोजना मार्फत ५ सय ७२ मिटर लामो बाँध निर्माण गरिने भएको हो ।नेपाल सरकार सिँचाई मन्त्रालयको योजनामा गत आर्थिक वर्षको बजेट कार्यक्रममा परियोजना मार्फत रुपाताल विकासको लागि काम सुरु भएको हो ।
बाँध निर्माणका पहिलो चरणमा तालको दक्षिणतर्फ जग्गा अधिग्रहणका लागि मुआब्जा वितरणको काम भइरहेको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले जनाएको छ । विसं २०३२ को नापीमा १३६ हेक्टर क्षेत्रफलमा फैलिएको ताल हाल १०७ हेक्टरमा खुम्चिएको छ । बाँध निर्माणका लागि सर्भेक्षणको काम भइरहेको परियोजना प्रमुख रामप्रसाद अर्यालले जानकारी दिए ।
दक्षिणतर्फ जग्गा अधिग्रहणमा परेका स्थानीयले प्रतिरोपनी १२ लाख ९३ हजार र तालबेंसीतर्फका स्थानीयलाई प्रतिरोपनी ८ लाख ६२ हजारका दरले मुआब्जा वितरण गरिएको छ । मुआब्जाका लागि अर्थ मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई २५ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ । हाल १०७ हेक्टरमा सीमित भएको रुपाताल सो जग्गा अधिग्रहण सम्पन्न भएसँगै १८३ हेक्टर क्षेत्रफलमा फैलिने अनुमान गरिएको छ ।
पानीको स्रोत सञ्चित गराई तालको आयतन स्वरुप बृद्धि गर्न बाँध निर्माण गरिनुपर्ने भन्दै सरोकारवालाहरुले विगत लामो समयदेखि आवाज उठाउँदै आएका थिए । वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएपछि बाँध निर्माण थालिने भएको हो । उनका अनुसार चालु आर्थिक वर्ष भित्रमा नै निर्माण कार्यका लागि बोलपत्र आह्वान गरिसक्ने योजना रहेको छ ।
माथिल्लो तटीय क्षेत्रमा खोलाले बगाएर ल्याउने गेग्य्रान रोकी तालमा मिसिन नदिन ३ स्थानमा पानी पोखरी निर्माणको काम चलिरहेको बताईएको छ । दुईवर्ष अगाडि सिँचाइमन्त्री दीपक गिरीद्वारा शिलान्यास गरिएको सो बाँधका लागि रू चार अर्ब ५१ करोड खर्च लाग्ने अनुमान छ। रूपातालमा बाँध निर्माण हुने खबर सुनेपछि स्थानीयवासी पनि खुशी भएका छन् ।
#Rupatal #Pokhara
