
फागुन ६, पोखरा । नक्कली नोटसहित पोखराबाट एक दम्पती प्रहरी नियन्त्रणमा परेका छन् । मकवानपुर हेटौडा घर भई हाल पोखरा महानगरपालिका ५ प्रस्याङमा डेरा गरी बस्दै आएका ३२ वर्षीय नरेश लामा र उनकी श्रीमती २५ वर्षीया सरस्वती बलामीलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत माघ २२ गते पोखरा महानगरपालिका १६ अर्मलाका विभिन्न किराना पसलहरुमा ग १४ प ३५४ नं. को मोटरसाईकलमा आएका २ जना व्यक्तिहरुले एक हजारको नक्कली नोट दिई रिचार्ज कार्ड लगेर फरार भएको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो । सोही सुचनाको आधारमा विस्तृत अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट प्रहरीले एक हजारको १९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग गरिने एउटा कलर प्रिन्टर, एउटा मोटरसाइकल र ९० हजार बराबरका नमस्ते र एनसेलका रिचार्ज कार्ड लगायतका विभिन्न सामाग्रीहरु बरामद गरेको छ । लामा दम्पतीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
प्रतीकात्मक तस्वीर
