
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की क्षेत्र नम्बर २ मा स्वर्गी रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई अधिकारीलाई उम्मेदवार बनाउने संकेत गरेका छन्।
पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले पार्टीमा औपचारिक छलफल भइनसकेको पनि पार्टीको स्थानीय संगठन र सबै सरोकारवालाको समन्वयमा उपयुक्त निर्णले लिइने बताए ।
सञ्चारमाध्यमले पार्टीका नेता वामदेव गौतमको नाम चर्चामा ल्याए पनि रवीन्द्रकै परिवारबाट उम्मेदवार उठाउन सकिने बताएका हुन् । ‘कास्की २ मा उपनिर्वाचनबारे पार्टीमा औपचारिकरुपमा कुरा भइसकेको छैन’, उनले भने ।प्रचण्डले रवीन्द्रको परिवार पनि राजनीतिक भएकोले त्यहीँबाटै उम्मेदवार उठाउन सकिने बताए ।
‘कास्की जिल्लाका साथीहरुले पनि उचित उम्मेदवारको नाम सिफारिस गर्नुहोला । परिवारको सदस्यबाटै जाँदा उपयुक्त हुन सक्छ’, दाहालले भने, ‘उहाँको परिवार पनि राजनीतिक पृष्ठभूमिको हो । नेतृत्व गर्न सक्ने उहाँकै जीवनसंगिनी पनि हुनुहुन्छ, विद्याजी । यी सबै कुरा विचार गरेर पार्टीले उपयुक्त निर्णय लिनेछ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेता अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की क्षेत्र नम्बर–२ मा उपनिर्वाचन गराउनुपर्ने भएको छ ।उक्त क्षेत्रमा पार्टीले कसलाई उम्मेदवार बनाउँछ भन्ने जिज्ञासा भइरहेका बेला दाहालको उक्त भनाइ आएको हो ।
यो पनि पढ्नुहोस्::
पोखरा आएर प्रचण्डले भने : सीके राउतसँग मलाई तुलना नगरेको भए हुन्थ्यो
