
पोखरा । अन्नपूर्ण बेसक्याम्प (एबिसी) लाई यही फागुन १३ गते आएको हिमआँधीले ठूलो क्षति पुर्याए पनि पर्यटकको सुविधालाई दृष्टिगत गर्दै बेसक्याम्पका व्यवसायी सामान्य अवस्थामा फर्काउने तयारीमा जुटेका छन् ।
अकल्पनीयरूपमा अन्नपूर्ण आधार शिविर क्षेत्रमा आएको हिमआँधीका कारण होटलका छाना नै उडाएको र हिउँ जमिरहेका कारण होटलभित्रको क्षतिबारे अझै यकिन हुन नसकेको स्थानीयवासीले बताए ।
हिमआँधीका बखत उक्त स्थानमा कुनै मानिस नरहेका कारण कुनै मानवीय क्षति भने नभएको अन्नपूर्ण सेन्चुरी लजका सञ्चालक जेबी गुरुङले बताए । हिउँ पग्लिनसकेका कारण पुनःनिर्माणमा केही असहजता भए पनि पर्यटकलाई वैशाखको पहिलो हप्तामा नै आधार शिविरमा पुगी बस्न सक्ने गरी पुनःनिर्माणको तयारी थालिएको उनले जानकारी दिए ।
आजभन्दा झण्डै चार दशकअघिसम्म एबिसी जाने पर्यटक भेडीगोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्ने गरेको स्थानीयवासी एवं होटल स्नोल्याण्डका सञ्चालक जगनबहादुर गुरुङले जानकारी दिए । गुरुङ र अर्का पर्यटन व्यवसायी स्व डम्बरबहादुर गुरुङले विसं २०३८ मा पहिलोपटक एबिसीमा पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल सञ्चालन शुरु गरेका थिए ।
स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्य एबिसी भएका कारण क्षतिप्रति सरकार गम्भीर बन्नुपर्ने अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले बताए । क्षतिपश्चातको पुनःनिर्माणमा स्थानीयवासीले निकै चासो देखाएको बताउँदै उनले ठूलो हिमपातसँगै आधार शिविर र यस क्षेत्रका पदमार्गमा भएको क्षतिको पुनःनिर्माणलगायतका विषयमा तत्काल कदम चालिने उनले बताए ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।
