जसुदा (१० करोड) प्रकरणः मिडियासँग माफी मागिन्, श्रीमान् विरुद्ध उजुरी फिर्ता, ‘कारोबार मिलाउँछु’

Share:

रञ्जन अधिकारी, पोखरा । व्यक्ति तथा सहकारीसँग १० करोड बढी रकम लिएर पोखरा गणेशटोलकी जसुदा पौडेल फरार भएको समाचार पोखरा स्थित अनलाइन मिडियाहरुले सार्वजनिक गरे । भोलिपल्टै उनी युट्युब च्यानलमार्फत सार्वजनिक भईन् । सम्पर्कविहीन भएको स्विकारिन्, झण्डै त्यतिनै रकम तिर्नुपर्ने पनि स्विकार गरिन् तर डिभोर्सी श्रीमान् र मिडिया विरुद्ध खनिईन् । पूर्व श्रीमान सुरेन्द्रमणि पौडेल विरुद्ध त उजुरी नै दिएर कास्की प्रहरी झिकाईन्, भिडियो अन्तर्वार्तामा मिडिया विरुद्ध पनि उजुरी दिन्छु भनेकी उनले उजुरी भने दिएकी थिईनन् ।

समाचार झुटो हो, म भागेकी छैन, पैसा लिएकाहरु सबै दिदी बहिनी, मिल्ने साथी हुन् भनेकी उनले बुधबार विज्ञप्ती नै निकालेर मिडियासँग माफी मागेकी छिन् । पूर्वपतिका बिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा आवेग तथा बहकाउमा आई दर्ता गराएको उजुरी समेत फिर्ता लिएको पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । उनले आफ्नो नाममा रहेको सम्पति तथा व्यवसायबाट माइती, साथीभाई तथा आफन्तको साथ लिई कारोबार मिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । जसुधाले आफू पोखरामै रहेको र अहिले आफ्नो पुरानो सम्पर्क नम्बर संचालनमै रहेको समेत जनाएकी छन् ।

पूर्व श्रीमान्को यातनाले मर्ने सम्मको अवस्था आएको, समाचारले झनै मर्नु न बाँच्नु बनाएको बताएकी उनले भिडियोमा आफूसँग करोडौंको सम्पति भएको समेत बताएकी थिईन् । लिनुपर्ने मान्छे फेक हो भनेकी उनले केही मिनेटमै नाता जोड्न थालेकी थिईन् । जसुदा सोहि अन्तर्वार्तामै चुकेकी थिईन् ।

अहिले गल्ती महसुस गर्दै माफी मागेकी हुन् । उनले अब सबैको पैसा तिर्ने भनेकी छिन् । पैसा दिनेहरु पनि मिटर ब्याजीको लोभमा दिएकाहरु भएकाले प्रहरीसँग उजुरी गर्न समेत पुगेनन् । यस मुद्धा अघि बढेमा पैसा दिने, लिने सबै छानविनको दायरामा आउने थिए । तर उजुरी नै फिर्ता लिएपछि प्रहरीलाई पनि हाईसञ्चो भएको छ ।

जसुधाले आफ्ना साथीहरु, आफन्त, विजनेस पार्टनर सहित नजिकका १०–१५ जना साथीहरुलाई गरी करिब ५–७ करोड रकम तिर्न रहेको बताएकी छन् । व्यक्ति बाहेक आफ्नो सहकारीमा २–३ करोड ऋण रहेको स्वीकार गर्दै जसुदाले सहकारीको ऋण धितोमा भएको र आफ्नो अन्य जग्गा जमिन तथा जायजेथा रहेकाले बिस्तारै सबै रकम तिर्ने प्रतिबद्धता जनाएकी छिन् ।

पूर्वपति सुरेन्द्रमणि पनि आफै सम्पर्कमा आए

जसुदाका पूर्वपति सुरेन्द्रमणि उजुरी फिर्तासँगै मिडियामा आएका छन् । बिगखबरसँग सम्पर्कमा आएका पौडेलले भने – ‘म विरुद्ध दिएको उजुरी फिर्ता भएको छ । म यसमा संलग्न थिएन । मसँग पहिल्यै सम्बन्ध विच्छेद भइसकेको हो । एक्कासी भिडियोमा म र मिडिया विरुद्ध खनिँदा उनी फेरि अर्को तनावमा रहिन् । कारोबार मिलाउँछु भनेकी छिन् । केही ठाउँमा म नै जमानत बसेको थिएँ । समन्वय गर्ने काम गर्छु । उनले सबै कुरा बिर्सेर माफी मागेर मिडियामा आइसकेको अवस्थामा म उनलाई केहि पनि भन्दिनँ । ७ र ९ बर्षका छोराछोरी छन् । मेरो जिम्मामा छन् । तसर्थ, म उनको व्यक्तिगत कुराहरु केहि पनि बोल्न चाहन्नँ । मिडिया मार्फत म पनि सार्वजनिक हुँदा मेरो अफिसियल कामहरुमा बाधा पुगेको छ । उनी मेरी श्रीमती थिईन्, म मुछिनु स्वभाविक पनि हो ।’

भिडियोः पोखरा न्यूज र फलानो न्यूज

सम्बन्धित समाचारः

१० करोड ठगी आरोपी जसुधा भन्छिन्ः ‘श्रीमानले फसाए, ज्यान जोगाउन हराएँ’ (भिडियो)

१० करोड ठगेर पोखराकी जसुधा फरार प्रकरणः के हो वास्तविकता ?

कमेन्ट गर्नुहोस्
Share: