
रेम बिक
पोखरा, ११ बैशाख । प्रेमगीत सिरिज अन्तरगत यसको पछिल्लो सँस्करणको छायाँकन शुरु नहुँदै यसको निर्माण कम्पनीले फिल्मको फस्ट लुक सार्वजनिक गरेको छ । मिडियालाई प्राप्त फस्ट लुक पोस्टरमा निर्माण कम्पनीले रिलिज डेट लक गरिसकेको देखिन्छ । कम्पनीले आगामी चैत २८ गते रिलिज डेट लक गरेर मात्रै फिल्म छायाँकनमा लैजाने तयारी गरेको जनाएको छ ।
फिल्मको फस्ट लुकले दर्शकलाई कौतुहलता जनाउँने पक्का छ । अलिक भिन्दै तरिकाको फस्ट लुक हेर्दा यो फिल्म पिरियड ड्रामा हुनसक्ने आँकलन लगाउन सकिन्छ । यद्यपि यो फिल्मको विषयमा निर्माण कम्पनीले केही कुरा खुलाईसकेको छैन । चाँडै नै पत्रकार सम्मेलनमार्फत फिल्मको विषयमा थप जानकारी दिने निर्माण कम्पनी आशुसेन फिल्म्सले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यस्तै प्रेमगीतको तेस्रो फ्रेन्जाइजमार्फत यसका निर्माता सन्तोष सेनले आफूलाई निर्देशकको रुपमा डेब्यू गर्ने जनाऊ दिएका छन् । त्यसो त उनको सोलो निर्देशनमा भने फिल्म बन्नेछैन । डमरुको डण्डीबियो फेम्ड निर्देशक छेतेन गुरुङसँग सँयुक्त रुपमा सेनले यो फिल्म निर्देशन गर्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
प्रेम गीतका अघिल्ला सँस्करणहरुलाई दर्शकले निकै रुचाएका थिए । र, फिल्मको पछिल्लो सिरिजलाई पनि दर्शकको रोजाईअनुसारकै बनाईने निर्माण कम्पनीको दाबी छ । अघिल्ला फिल्मको तुलनामा मेकिङ, स्टोरी टेलिङ, लोकेशन र कास्टिङमा झन् बढि मेहेनत हुने कम्पनीको दाबी छ ।
यही फिल्मको पहिलो र दोस्रो सिरिजबाट अभिनेता प्रदीप खड्का लाइमलाइटमा आएका हुन् । यो पटक पनि फिल्मको मूख्य अभिनेताको रुपमा उनी नै देखिने पक्का छ । यद्यपी बाँकी कलाकारहरुको सवालमा छनौट प्रकृया चलिरहेको निर्माण कम्पनी आशुसेन फिल्म्सले जनाएको छ ।

