९ महिनामा चितवन राष्ट्रिय निकुञ्जका मरे ४१ गैंडा

1835
0
Share:

चितवन । चालू आर्थिक वर्षको साउन यता चितवन राष्ट्रिय निकुञ्जमा ४१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार लिङ्ग पहिचानसमेत हुन नसकेका कतिपय गैँडाको हाडखोर मात्र भेटिएका छन् । तीमध्ये कतिपयको हाडखोरमा लेउ लागेको अवस्थामा भेटिएका थिए ।

दुई वर्ष अघि राप्ती नदीमा आएको बाढीले धेरै गैँडा बगाएका थिए । ती गैँडा निकुञ्जको पश्चिमी क्षेत्र हुँदै भारतसम्म पुगेका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्का यस वर्ष धेरै गैँडा प्राकृतिक कारणले मरेको नभएर अघिल्ला वर्षहरूमासमेत मरेको भेटिएको बताउँछन् ।

धेरै गैँडा कङ्काल अवस्थामा भेटिएको भन्दै उनले विगतका वर्षहरुमा मरेका गैँडाहरुसमेत अहिले भेटिएको बताए । सशस्त्र द्वन्द्वको समयमा विसं २०५८ मा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए ।

योसँगै संरक्षणका लागि सरकार र दातृ निकायले चासो दिएपछि दुई वर्ष यता शिकारीले गैँडा मार्न सकेका छैनन् ।

निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले–भाले जुधेर, ढिस्कोबाट लडेर, गोहीले हानेर, बाघले खाएर, बच्चा पाउन नसकेर, दलदलमा फसेर, बिरामी भएर र बूढो भएर कालगतिबाट मर्ने गरेका छन् ।

गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् ।

यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना गर्ने भनिए पनि बजेट अभावका कारण आउँदो आर्थिक वर्ष गणना गरिने भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: