तनहुँ जलविद्युत आयोजनाको बाँध बनाउन टेण्डर आह्वान

Share:

तनहुँ । इटालीको ठेकेदार कम्पनी सिएमसीले काम नै शुरु नगरी अलपत्र पारेको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि नयाँ प्रक्रिया सुरु भएको छ।

कुल १४० मेगावाट क्षमताको सो आयोजनाको बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि आज पुनः विश्वव्यापी बोलपत्र (टेण्डर) आह्वान गरिएको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले जनाएको छ।

इटालियन कम्पनी सीएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि कम्पनीले पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी निर्माण व्यवसायीलाई सहभागिताका लागि आग्रह गरेको हो । बोलपत्र पेश गर्ने अन्तिम दिन आगामी जेठ २६ गतेका लागि तोकिएको छ।

छनोट हुने निर्माण व्यवसायीले आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुई सुरुङलगायतका संरचना निर्माण गर्नुपर्ने कार्यभार रहेको छ ।

पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैंक र युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋण परिचालन हुने गरी व्यवस्था मिलाइएको छ।

बोलपत्र प्रक्रियामा सहभागी हुन चाहने कम्पनीले एसियाली विकास बैंकको खरीद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्नुपर्नेछ।

तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेका अनुसार दातृ निकायले तयार पारेको निर्देशिकालाई पूर्णरूपमा परिपालना गरी प्राप्त हुने प्रस्ताव माथि अन्तिम निर्णय गरिन्छ।

“पहिलो चरणमा प्राविधिक प्रस्ताव मूल्याङ्कन गरी सारभूत रूपमा प्रभावग्राही बोलपत्रदाताको मात्रै आर्थिक प्रस्ताव खोलिने छ”, प्रबन्ध सञ्चालक थिकेले भने।

आगामी कात्तिकको दोस्रो साताभित्र ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो सातादेखि आयोजनास्थलमा निर्माण व्यववसायी परिचालन गर्ने लक्ष्यका साथ नयाँ प्रक्रिया सुरु गरिएको छ।

आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र सम्पन्न गर्ने संशोधित लक्ष्य तय गरिएको उनको भनाइ छ।

तनहुँ हाइड्रोपावर लिमिटेडले खरिद सम्झौतामा भएको व्यवस्थाअनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको आदेश नमानेपछि सिएमसीसँग ठेक्का सम्झौता रद्द गरिएको थियो।

यस्तै सीएमसीले अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदातालाई भुक्तानी दिन नसकेको, इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायतका कारणले समस्यामा परेपछि ठेक्का सम्झौता तोडिएको थियो।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका काम भने चिनियाँ कम्पनी सिनो हाइड्रोले आयोजनास्थलमा काम सुरु गरिसकेको छ।

सिनो हाइड्रोले हाल आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवासगृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेशमार्ग र अन्य संरचनाको सर्वेक्षण तथा डिजाइन गरिरहेको छ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ।

कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारणलाइनको थप सर्वेक्षणको काम गरिरहेको छ। आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ।

त्यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण तथा प्राधिकरण र तनहुँ हाइड्रोबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन्।

सीएमसीसँगको ठेक्का तोडिएपछि आयोजना सम्पन्न हुने मितिसमेत एक वर्ष पर धकेलिएको छ। सुरुमा आयोजना वि.सं. २०८० सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

अर्धजलाशय प्रकृतिको सो आयोजनालाई आकर्षक आयोजनाको रुपमा लिइएको छ। ठूला करदाता कार्यालयले सिएमसीले कर नतिरेको भन्दै १५ दिनभित्र ठूला करदाता कार्यालयमा सम्पर्क राख्न यसअघि नै आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: