
पोखरा । रामबहादुर पौडेल लगायतका अभियन्ताहरुको अगुवाईमा पोखरा वृहत सफाई अभियानको १५२ औं श्रृंखला सम्पन्न भइसकेको छ । अभियानले फेवातालमा मिसिने फिर्के बुलौंदीमा सरसफाई गरिसकेको छ ।
सरसफाई भन्ने कुरा एक दिन गरिने कुरा हैन, अभियानले फोहोर छ, फोहोर नगरौं भनेर सचेतनाका लागि नै सफाई गरेको हो । सधैं अभियानले आएर खोला र ताल सफा गर्छ भन्ने हैन ।
पोखराको गौरव फेवाताल, पोखरेलीकै कारण कुरुप बन्दै गएको छ, पुरिँदै गएको छ, फोहोर बन्दै गएको छ । १० दिन अघि फेवातालको ड्यामसाईडस्थित गाईघाटमा फिर्केखोलाले बगाइल्याउने फोहरमैला रोक्न अस्थायी चेकड्याम निर्माण गरियो ।
बृहत् सफाइ अभियानको विशेष पहल र पोखरा महानगरको सहयोगमा निर्मित उक्त चेकड्याम ठड्याउन नेपाल प्रहरीको पार्दीमा रहेको गणबाट आवश्यक जनशक्ति खटाइएको थियो ।
फिर्के खोलाबाट बगेर आउने फोहोरले फेवाताल प्रदुषित हुने क्रम बढेपछि उक्त खोलामा मेटल र जालीको चेक ड्याम बनाइएको हो । एक हप्ता बीचमै ड्याममा फोहोरको डंगुर लाग्यो ।
पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत शेषनारायण पौडेल फेवातालको प्रदुषण रोक्ने दीर्घकालीन समाधान चाहिँ फिर्के लगायतका खोलाहरुमा चेकरसिल्ट ड्याम बनाउने तथा खोलामा फोहोर फाल्ने कामलाई निषेध र दण्डित गर्नु नै रहेको बताउँदै जसको लागि महानगरले प्रक्रिया अगाडि बढाएको जनाएका छन् ।
बृहत् पोखरा सफाइ अभियान अन्तर्गत शनिबार फिर्के खोलाबाट फेवातालमा मिसिएको फोहोरमैला हटाएर ताल सफा गरिएको थियो । बेगनासताल सफाई अभियानले समेत फेवाताल सफाई अभियानमा साथ दिएको छ ।







