
रौतहट । इद मनाउनका लागि चन्दा नदिएको भन्दै स्थानीयको एक समूहले रौतहटको राजपुर नगरपालिकाको मेयरलाई कुटपिट गरेका छन् । मंगलबार राति राजपुर नगरपालिकाका मेयर शेख सकिलमाथि राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट गरिएको हो ।
पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको र तर यस पटक ईदको अघिल्लो दिन मंगलबारसम्म पनि मेयरले सहयोग रकम नदिए पछि आक्रोशित बनेका शेख कासिम लगायतका व्यक्तिहरुले मेयर सकिल माथि आक्रमण गरेको थियो ।
मस्जिदमा नवाज पढ्न गएको बेला स्थानीयले आफूसँग सहयोग रकम माग गरेको र अहिले खल्तीमा पैसा नभएकोले सहयोग रकम भोलि दिन्छु भन्दा केही व्यक्तिहरुले टर्चलाइटले टाउकोमा प्रहार गर्दै कुटपिट गरेको मेयर सकिलले बताए । टाउकोमा चोट लागेका उनी उपचार पछि घर फर्किएका छन् । मेयरमाथि आक्रमण गरेका व्यक्तिहरु फरार रहेका छन् ।
