
समन्वय गर्छु, सहमति नभए अवरोधदेखि अदालतसम्म पुग्छुः वडाध्यक्ष गुरुङ
पोखरा । मादी गाँउपालिका वडा नं.१(साबिक पार्चे गाँउ विकास समिति)आफ्नो पुरानो साँधसिमा कायम गर्न जुट्ने भएको छ। मादी १, सिक्लेस—पार्चेबाट पोखरा आइ बसोबास गर्ने तमुहरुको साझा संस्था चिउली पाचे तमु समाज पोखराद्वारा सिक्लेसको सभाच्होंमा मंगलवार आयोजित बृहत भेलाले मादी गाँउपालिका वडा नं.१ को पुरानै सिमाना कायम गर्न वडा नं.१ का वडाअध्यक्ष सुरजकुमार गुरुङको नेतृत्वमा वडा कार्यालयले विशेष पहल गर्ने निर्णय गरिएको हो।
विगतमा २६६.९० वर्ग किमि क्षेत्रफलमा रहेको तत्कालिन पार्चे गाँउ पञ्चायत/गाविस केही वर्ष अघिदेखि ७२.९० वर्ग किमिमा सिमित बनाइएकोमा आपत्ति जनाउदै चिउली पार्चे तमु समाज पोखराले दुइवर्ष अघिदेखि पुरानै सिमा कायम गर्न गराउन वडा नं.१ वडा कार्यालयलाई आग्रह लगायत विभिन्न पहल गर्ने क्रममा मंगलवार सिक्लेसमा बृहत भेला सम्पन्न गरेको हो। भेलाले वडा नं.१ बासी सम्पुर्ण एकभई पुरानै सिमा कायम गराउन जुट्ने र वडा नं. १ कार्यालयले उक्त अभियानको नेतृत्व गर्ने निर्णय गरेको हो।
चिउली पाचे तमु समाज तथा वडा नं. १ सिमा सरोकार समितिद्वारा आयोजित भेलाका प्रमुख अतिथि मादी गाउपालिका वडा नं. १ का वडाअध्यक्ष सुरजकुमार गुरुङले केही वर्ष अघि नक्शामा सिमा फेरिएकोमा आपत्ति जनाउँदै आफ्नो वडाको सिमाना, भुभाग, श्रोत साधनमा आफ्नो प्रमुख सरोकार भएकाले सिमाना सच्याउने जिम्मा लिने बताए । आफ्नो भुमि, सिमाका बारेमा प्रमाण जुटाएर प्रकृयागत, समन्वय गरी समस्या समाधान गर्न पहल गर्ने आवाश्यक परे लड्ने समेत बताए। जोश र होस दुवै राखेर काम गर्नुपर्ने हुन्छ, विषय गम्भीर भएकाले सिमानाका लागि सँगैको वडा नं. २, गाउपालिका र प्रदेश सरकारसँग छिट्टै पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। वडाको बृहत भेलाको निर्णयलाई संस्थागत गर्ने बताउँदै वडा कार्यालयले समस्या समाधान गर्न उपायहरु अपनाउँदै जाने सहमतिमा नपुगेमा सिमामा अवरोध गर्दै अदालतसम्म पनि पुग्नुपर्ने हुन्छ भन्दै सिक्लेसमा संकट हुँदा सिक्लेसका विद्वानहरुको साथ सहयोगको आवाश्यक रहेको उनको भनाई थियो। सिमानाको बारेमा वडा कार्यालयले नेतृत्व गर्ने, आवाश्यकता परे सिमा सरोकार समिति गठन गरिने उनको भनाई थियो।
कार्यक्रममा टंक गुरुङले २०७२ साल भदौ २ गते सिडिओ कार्यालयमा सिमाका बारेमा पार्चे गाविसका तर्फबाट आफुहरु प्रमाणसहित प्रस्तुत भए पनि नामार्जुङले प्रमाण पेश नगरेको बताए। हाइड्रोको बारेमा चिन्ता लिनेहरु वडाको सिमाबारे चिन्ता किन लिदैनन् भन्दै युवाहरुलाई ठेक्का र कमिशनमा नलाग्न सचेत गराए।वडा नं.१ कै कोरी, कबुचे हिमताल लगायतको पर्यटकीय संभावना, जडिबुडी क्षेत्र, बन जंगल, जल सम्पदामा वडा नं. २ को अनुमति चाहिने अवस्था आएकाले सबै सचेत हुनुपर्नेमा जोड दिए। सुपरमादी हाइड्रोले बम बिष्फोट गराउँदै सिक्लेसलाई जोखिममा पारेकाले बम ब्लाष्टिङ रोक्नका लागि वडाको पहल जरुरी रहेको बताउदै आफुहरु पनि बमबाट हुने जोखिमका बिरुद्ध सुपरमादिमा दवाव दिन जाने बताए।
नेपाल आदिवासी जनजाति महासंघ पोखरा महानगर अध्यक्ष जंगबहादुर गुरुङले कार्यक्रममा बोल्नुहुदै वडाबासी एकतावद्ध भई वडा नं.२ सँग, मादी गाउपालिका र प्रदेश सरकारसँग समन्वय, पहल र दवाव दिएर भए पनि वडा नं. १ को सिमा पुरानै कायम गराउनुपर्ने बताए।उनले सिक्लेसको पुरानो सिमा कायम गराउन वडाअध्यक्षले खुट्टा दरिलो बनाउनुपर्ने सुझाव दिंदै आफुहरुले सक्दो साथ दिने बताए।
समाजसेवी रुद्रबहादुर गुरुङले मादी १ को पुरानै सिमा कायम गराउन वडा नं.२ सँग समन्वय गर्न वडाअध्यक्षले तत्काल पहल गर्नुपर्ने सुझाव दिनुभयो। उनले लालपुर्जा भएको, तिरो तिरीरहेको, भोगचलन गरिरहेको ठाँउमा रातारात अर्को वडामा किन कसरी कसले पुर्यायो खोज्नुपर्ने बताए ।
शिक्षक गेहेन्द्र गुरुङले २०४४ सालको नामार्जुङको भिलेज प्रोफाइलमा पार्चेलाई खुम्चाइएको र नामार्जुङ विस्तारित भएको नक्शा समावेश गरिएको भन्नुहुदै वडाको सिमाना पुरानै कायम गर्न सबै एकजुट हुनुपर्ने बताए। विषय संवेदनशील भएकाले प्रकृयागत ढंगले वडा र वडाध्यक्षले विशेष पहल गर्नुपर्दछ, यस अभियानमा वडा अध्यक्ष असफल भएको उनको पार्टी पनि असफल हुने भन्दै भेलाको निर्णय कार्यान्वयन गराउन सबै जुट्नुपर्ने बताए ।
चिउली पाचे तमु समाज आमा समितिकी कार्यवाहक अध्यक्ष लोककुमारी गुरुङले गाँउ र वडाको मात्र नभई हिजैदेखि लमजुङ जिल्लासँग सिमाना रहेको वडा नं. १ को पुरानै सिमाना कायम गर्न वडाध्यक्षले छिटो पहल गर्नुपर्दछ, सबैको साथ रहने बताए।
सिक्लेस युथ क्लवका अध्यक्ष पदम गुरुङले सिमाना विवादकै कारण मुत्बी क्युत्बी हाइड्रोको बाटो खन्न आएको डोजर र ट्रयाक्टर थन्केर बसेको बताउदै समस्या समाधान गर्न गाउँबासी, वडा कार्यालय, सांसद मनबहादुर गुरुङले पनि पहल गरिरहेको बताए। विवाद समन्वयबाट टुङ्ग्याउनुपर्दछ, झै झगडा नगरौं, सबै एक भई जुटौ उनको भनाई थियो।
युवा नेता देवी जंग गुरुङले १९६८ पुस १२ गते बीरमान गुरुङको संयोजकत्वमा सिमांकन गरिएको पार्चेको पुरानै सिमा कायम हुनुपर्नेमा जोड दिंदै समयमै वडाबाट सिफारिस भएको भए संघीय सरकारको निर्णयबाट सिमांकन समस्या समाधान भइसक्ने बताए। वडाको सिमा, श्रोत, साधन संरक्षण र विकास नागरिक सबैको अभिभावक वडा कार्यालय नै भएकाले सिमाना समस्या सुल्झाउन वडाको नेतृत्वमा सबैको साथ रहने बताए ।
उक्त कार्यक्रममा सु.जंग गुरुङ, वडा सदस्य भिमलाल गुरुङ, एकबहादुर गुरुङ, बलबहादुर गुरुङ, लोककृष्ण गुरुङ, हुमबहादुर गुृरुङ लगायतले पुरानै सिमाना कायम गराउन सबैको एकता, प्रमाण संकलन, वडा नं. १ को सक्षम नेतृत्व हुनुपर्ने भन्दै तन,मन, धनले सहयोग रहने बताए।
विसं. १९६८ साल पुस १२ गते बुधवार तत्कालिन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शम्सेर जंगबहादुर राणाको शासन कालमा नेपालका गाउँक्षेत्र अन्र्तगतका बन संरक्षण गर्ने जिम्मेवारका लागि गाँउ क्षेत्र बन जंगलको सिमाना खुलाई पठाउनुपर्ने आदेश अनुसार साविक पार्चे गाविसको वडा नं. १ देखि ९ सम्म पुर्वमा ग्युँजे नेउरो तेर्सो बाटोमुनिसम्म, पश्चिममा बलाये लेकमाथि नौचुसम्म, उत्तरमा अन्नपुर्ण हिमश्रृंखला हात्तिगौडासम्म, दक्षिण मादी नदि भित्रको चारकिल्ला २६६.९० वर्ग किमि क्षेत्रफल ओगटेको मादी गाउपालिका वडा नं.१ को सिमा हुनुपर्ने वडा भेलाले माग गरेको हो।
मादी गाउपालिका वडा नं. १, साविक पार्चेको पुर्वीत्तोर १६७.६३ वर्ग किमी जल, हिमनदी, हिमताल, जंगल, जडिबुटीको क्षेत्र पर्यटकीय विकासका लागि अत्यन्तै संभावित भु–भाग मादी गाउपालिका वडा नं. २, साविक नार्माजुङ गाविसमा कहिले, किन, कसले,कसरी समावेश गरेको हो भन्दै गाँउबासीले भेलामा आपत्ति जनाएका थिए। जबकि पहिलो नक्शानुसार साविक नार्माजुङ गाविसको क्षेत्रफल १०५.६९ वर्ग किलोमिटर र पछिल्लो नक्शानुसार २७३.३२ वर्ग किमि पुर्याइएको छ।
सिमानाको बारेमा २०७२ सालमै गाउवासीले गाविसमा निवेदन दिए पश्चात जिविसले केही पहल गरे पनि समस्या समाधान हुन नसकेको र २०७४ माघ १० गते चिउली पाचे तमु समाज पोखराले मादी गाउपािलका वडा नं. १ मा सिमाना बारे निवेदन, २०७४ फागुन २३ गते निवेदनको बारेमा सुनुवाई होस भनि पत्राचार गरी आग्रह, २०७५ पुस १२ गते वडा अध्यक्षलाई चिउली पाचे तमु समाज र वडा सिमांकन सरोकार समितिका संयोजक कर्णल कमानसिं गुरुङले सिमानाका बारेमा भेला, छलफल,पहलको लागि पत्र मार्फत नै आग्रह गरिएको चिउली पार्चे तमु समाजका सचिव क्या.सम्शेर गुरुङले जानकारी दिए। चिउली पाचे तमु समाज र वडा सिमांकन सरोकार समिति पहलका लागि नेपाल सरकार समक्षसम्म पुगेको बताइन्छ।
यसै विच पछिल्लो पटक २०७६ साल जेठ १४ गते गण्डकी प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षको स्विकृत कार्यक्रम अनुसार रुपा र मादी गाउपालिकाको सिमाना अध्यावधिक गर्न नापी अधिकृत नारायणबहादुर घर्ती मगर प्रमुख रहेको टोली जेठ २५ गते मादी गाउपालिका वडा नं.१ पुगेको वडाअध्यक्ष सुरजकुमार गुरुङले जानकारी दिनुभयो। उक्त टोलीमा सर्वेक्षकहरु पुरण चौधरी, स्वयमराज शाक्य, रामकृष्ण जैशी, महेसबाबु श्रेष्ठ रहेको उहाँले बताए।
गाउपालिकाको सिमा अध्यावधिक गर्न २०७६ साल जेठ २५ गते वडामा पुगेकोको नापी टोलीलाई गाउभेलाले गरेको तीन बुदेँ निर्णय प्रस्तुत गरिएको वडा अध्यक्ष सुरजकुमार गुरुङले बताए । जस अनुसार मादी गाउपालिका वडा नं. १, साविक पार्चे गाविसको भुभाग वडा नं.२ मा कुन आधारमा, कहिले, कसरी गाभिएको होे वडाबासी अनभिज्ञ रहेको, भोग चलन पुराना दस्तावेजका आधारमा सिमाना पहिचान तथा निर्धारण नभइ हवाई वा अन्य माध्यमबाट भएको पछिल्लो नक्शांकन अव्यवहारिक, अबैज्ञानिक भएको भन्दै आपत्ति व्यक्त गरिएको र अहिलेको नक्शानुसार सिमांकन ठिक छ भनि सहमति दिन नसकिने तर दैनिक कार्यालयको कामकाज सुचारु गर्ने जवाफ लिखित रुपमै गाउवासी र वडा कार्यालयले पेश गरिसकेको वडाध्यक्ष गुरुङले बताए ।
वडा नं. १ को भु–भाग वडा नं.२ मा नक्शांकन गरिएकाले वडा नं.१ को ट्होडाबासी लगायत सिक्लेसीहरु समस्यामा परेका छन्। पछिल्लो नक्शानुसार ट्होडा वडा नं.२ मा देखिन्छ भने गत निर्वाचनहरुमा वडा नं.१ मै मतदान गरिरहेका छन्। वडा नं. १ बासीले आफ्नै जग्गामा काम गर्न पनि वडा नं. २ को अनुमति लिनुपर्ने अवस्था आएकाले जसरी भए पनि पुरानो सिमा कायम गर्न वडा कार्यालयलाई आफुहरुले झकझकाएको र साथ सहयोग रही रहने चिउली पार्चे तमु समाजका अध्यक्ष सु.रनबहादुर गुरुङले बताए।
कस्ले, किन, कसरी, कहिले हालको नक्शामा रहेको भन्दा ठुलो भु–भाग अन्य वडामा समावेश गराएको हो पत्ता लगाइ कारवाही समेत गर्नुपर्ने चिउली पार्चे तमु समाजका लोककृष्ण गुरुङको भनाई थियो।जन्म भुमिमाथि लुटिएकाले आफुहरु अन्तिम अवस्थासम्म जुधिरहने उनले प्रतिवद्धता व्यत्त गरे।

