
श्यामशितल परियार ,लमजुङ ।लमजुङको दोर्दी खोलामा बुधबार दिउँसो एक्कासी आएको बाढीले बगाउँदा मृत्यू भएका पाँच जनाकै पहिचान खुलेको छ ।जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेका अनुसार दोर्दी खोलामा आएको बाढीले बगाउँदा पर्साका शिवधन चौधरी, डडेल्धुराका रमेश बुढा, सप्तरीका भुवनेश्वर चौधरी, बाराका सइद अन्सारी रहेका छन् ।
यसैगरी, बाढीमै बगेर भोजपुरका दिवस कटुवालको पनि मृत्यु भएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार कटुवालको शव बिहिबार दिउँसो गोरखाको पालुङटार नगरपालिका–५, स्थित मस्र्याङ्दी नदी किनारामा भेटिएको हो ।
उहाँका अनुसार शव पोष्मार्टम पश्चात् सम्वन्धित आफन्तलाई बुझाइएको छ ।दोर्दी खोलामा आएको बाढीमा बगेर ५ जनाको मृत्यू भएको र ५ जना अझै वेपत्ता भएको पनि उहाँले बताउनुभयो ।
‘वेपत्ताहरुको खोजी कार्य भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘खोजीकार्यका लागि नदी किनारामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको छ ।’उद्धार गरी उपचारमा रहेका ८ जनामध्ये १ जनाको अस्पतालबाट ‘डिस्चार्ज’ भएको छ । ३ जना उपचारका लागि आफुखुशी काठमाडौँ गएका छन् । बाँकी ४ जनाको जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार भइरहेको छ ।दोर्दीखोलाको मुहानतिर पहिरो गएर थुनिन गई गएको बुधबार एक्कासी बाढी आएको हुनसक्ने अनुमान गरिएको छ ।बाढीले दोर्दी करिडोरमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाका महत्वपूर्ण सामानहरु बगाएको बताइएको छ ।
