
गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले कृषकलाई चार तहमा वर्गीकरण गरी अनुदान उपलब्ध गराउने भएको छ । कृषि र पशुपालनलाई व्यवसायिकता प्रदान गर्ने नीति अगाडि सारेको नगर प्रमुख भुपराज अधिकारीले जानकारी दिए ।
गल्याङ नगरपालिकालाई सेतो शहर (दूधको शहर) का रुपमा विकास गर्ने गरी योजना बनाएको नगरपालिकाले अनुदानको विषय अगाडि सारेको हो ।
कृषि र पशुपालन व्यवसायमा आबद्ध नगरभित्रका कृषक तथा पशुपालक व्यवसायीलाई नगरपालिकाले बनाएको मापदण्डका आधारमा चार तहमा वर्गीकरण गरी सबैलाई परिचयपत्र प्रदान गरी परिचयपत्रकै आधारमा अनुदान उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख अधिकारीले बताए ।
नगरपालिकाले व्यावसायिक, व्यावसायिक उन्मुख, साना किसान र निर्वाहमुखी किसान गरी कृषकलाई चार तहमा वर्गीकरण गरिएको नगरपालिकाअन्तर्गत कृषि शाखा प्रमुख सुशील अर्यालले बताए । नगरपालिकाभित्रबाट दैनिक पाँच हजार दूध उत्पादन गर्ने गरी रणनीति बनाइएको छ ।
यस्तै गेँडागुडी तथा कोदोजन्य खेतीलाई प्रोत्साहन गर्दै उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने निर्णय पनि गरिएको छ । नगरपालिकाले गाई भैँसी खरीद गर्न गोठ तथा भकारो निर्माण एवं मेशिन खरीदका लागि ५० प्रतिशतसम्म किसानलाई अनुदान उपलब्ध गराउने र दूध बिक्रीमा प्रतिलिटर रु १५ सम्म अनुदान दिने नीति अगाडि सारेको छ ।
कृषकको वर्गीकरण::
-व्यवसायिक कृषकका लागि कम्तीमा पनि ५० वटा दुधालु माउ पशु वा ५० वटा बाख्रा र दश रोपनी जमीनमा व्यावसायिक उत्पादन गर्ने वा १० वटा टनेलमा व्यावसायिक कृषिखेतीमा संलग्न भएको हुनुपर्नेछ ।
-व्यवसायिक उन्मुख कृषकको हकमा कम्तीमा २० देखि ४९ वटा दुधालु भैँसी वा गाई, २० देखि ५० वटा बाख्रा वा तीन रोपनीमा व्यावसायिक खेती गर्ने वा पाँच वटा टनेलमा कृषिखेती गर्ने किसान यसअन्तर्गत पर्ने मापदण्ड तोकिएको छ ।
-साना किसानअन्तर्गत पाँचदेखि १९ वटासम्म दुधालु पशु वा सोही सङ्ख्यामा बाख्रा वा बढीमा तीन रोपनीसम्म जमीनमा व्यावसायिक खेती गर्ने वा पाँच वटा टनेलमा कृषिखेती गर्नेलाई समावेश गरिएको छ ।
-निर्वाहमुखीमा पाँच वटासम्म दुधालु पशु, एक रोपनीभन्दा कम क्षेत्रफलमा खेती गरेको र बढीमा १५ वटासम्म बाख्रा पालेको कृषकलाई समावेश गरिएको छ ।
