
काठमाडौं। खानपान र अव्यवस्थित जीवनशैलीका कारण पछिल्लो समय विश्वमै मधुमेह रोगको जोखिम बढिरहेको विभिन्न अध्ययनहरुले देखाएको छ ।नेपालमा ८ दशमलव ५ प्रतिशत जनसंख्यामा मधुमेह रोग रहेको स्वास्थ्य अनुसन्धान परिषदको तथ्याङ्कले देखाएको छ ।
परिषदले देशका सातै प्रदेशका १३ हजार २ सय जना मानिसमा अध्ययन गरेको थियो । जसमा नसर्ने रोगमा दोस्रो नम्बरमा मधुमेह देखिएको थियो ।
उक्त अध्ययनमा मधुमेहका बिरामी सबैभन्दा बढी प्रदेश ३ मा ११ दशमलव पाँच प्रतिशतमा देखिएको छ भने सबैभन्दा कम मधुमेहका बिरामीहरु कर्णाली प्रदेशमा देखिएका छन् । जुन ३ दशमलव २ प्रतिशतमा देखिएको छ ।
त्यसैगरी, प्रदेश १ मा ७ दशमलव ७ प्रतिशत मानिसमा मधुमेह देखिएको छ भने प्रदेश २ मा ८ दशमलब ५ प्रतिशत मानिसमा देखिएको छ । गण्डकी प्रदेशमा ६ दशमलव ७ मानिस मधुमेहबाट ग्रसित रहेका छन् । प्रदेश ५ मा ९ दशमलव ६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५ दशमलव २ प्रतिशत प्रभावित भएका छन् ।
पछिल्लो समय खानपान र जीवनशैलीका कारण ग्रामिण क्षेत्रमाभन्दा शहरी क्षेत्रमा मधुमेह रोग बढी देखिने गरेको चिकित्सकको भनाइ छ ।
परिवारको कुनै पनि सदस्यलाई मधुमेह देखिएको छैन् भने ३० वर्ष नाघेपछि नियमित रुपमा सुगर चेकजाँच गनुपर्ने हुन्छ । मधुमेह रोग विशेषज्ञ डा. सन्देश पन्थीले पहिला–पहिला ४० वर्ष नाघेपछि देखिने मधुमेह रोग पछिल्लो समय २० वर्ष नाघेपछि नै देखिने गरेको बताए ।
नेपालमा मधुमेहका कारणले हुनसक्ने अन्धोपनको सम्भावना २५ गुणा बढी हुने हुन्छ । हरेक स्वस्थ मानिसले वर्षमा एकपटक मधुमेहको चेकजाँच गराउनु पर्ने मधुमेह रोग विशेषज्ञहरुले बताएका छन् ।
मधुमेहका कारण सन् २०१२ मा मात्र विश्वभर ४८ लाख मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय मधुमेह संगठनले जनाएको छ । हाल विश्वमा ४२ करोड मानिसमा मधुमेह रहेको संगठनले जनाएको छ ।
मधुमेहबाट बच्ने उपाय
– मधुमेहबाट बच्नका लागि रगतमा चिनी, ग्लुकोजको परिमाण ठीक मात्रामा राख्नु पर्छ । जस्तै (खाली पेटमा ७०–१२० मि.ग्राम÷डे.लि र खाना खाएको २ घण्टा पछि १८०.मि.ग्राम÷डे.लि. भन्दा कम सकेसम्म १४० र मि. ग्राम÷ड.लि.भन्दा कम राख्नु पर्छ ।
-उचाइ अनुसार शरीरको तौल ठीक मात्रामा राख्नु पर्छ ।
-रक्तचाप नियन्त्रणमा राख्नुपर्छ ।
