‘राइनो होइन गैंडा हो, माउन्ट एभरेष्ट होइन सगरमाथा हो’ (अडियो)

Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनको विकासका लागि उड्डयन क्षेत्र महत्वपूर्ण भएकाले प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

सोमबारदेखि काठमाडौंमा सुरु भएको एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनमा प्रधानमन्त्री ओलीले पर्यटनको विकासका लागि ‘कनेक्टिभिटी’ महत्वपूर्ण रहेकाले उड्डयन क्षेत्रको भूमिका उल्लेखनीय भएको बताए ।

उनले नेपाल उड्डयन क्षेत्रको सुधारका लागि ‘आइकाओ’ सँग मिलेर काम गर्न तयार रहेको स्पस्ट पारे । आइकाओको नियम मान्नु कुनै बाध्यता पनि नभइ आवश्यकता रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘हामीसँग यस्ता प्राकृतिक उपहार छन्, त्यसैले हामी विश्वकै सुन्दर छौं, हामीसँग सगरमाथा छ जुन संसारमै एकमात्र हो त्यस्तै हामीसँग गैंडाजस्ता जीवजन्तु पनि छन्,’ उनले सम्बोधनको क्रममा भने, ‘तर संसारमा हामीसँगमात्र भएका चिजको नामाकरण हाम्रै पहिला हुने होला। त्यसैले राइनो होइन गैंडा हो, माउन्ट एभरेष्ट होइन सगरमाथा हो। यही नामबाट चिन्न हामी आग्रह गर्छौं।’

विश्वकै आकर्षक मध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइने प्रधानमन्त्री ओलीले स्मरण गराए। प्राकृतिक सम्पदा, हिमाल र जंगली जनावर हेर्न वर्षेनी लाखौं पर्यटन आउने भएकोले नेपालको ‘कनेक्टिभिटी’ विश्वभरि हुनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ।

उनले नेपालले पर्यटकको आवागमनमा वृद्धि गर्न ‘बुटिक एअरपोर्ट’को विकास पनि गरिरहेको बताए । सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ नभइ सगरमाथा नै भएको र नेपालीको पहिचान पनि भएकाले सगरमाथा नै भन्न उनले आग्रह गरे ।

‘हामी नेपाललाई सुरक्षित गन्तव्यका रूपमा पहिचान गराउन चाहन्छौं। यसका लागि हाम्रो नीति र प्रयासहरु केन्द्रित हुनेछन्’, प्रधानमन्त्री ओलीले भने।

यो पनि – गैंडालाई ‘राइनो’ भनिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि, ‘गैंडाज आर गैंडाज, नट राइनोज’

कमेन्ट गर्नुहोस्
Share: