
बिग न्यूज
पोखरा, ५ भदौ । ईश्वर गुरुङ गेट वे फाउन्डेशन नामक संस्थाका सँयोजक हुन् । उनले अहिले लागुऔषध प्रयोगकर्ताहरुलाई सुधार गर्ने अभियान यही फाउन्डेशनमार्फत चलाईरहेका छन् । यद्यपि कुनै बेला उनै ईश्वर पनि लागुऔषध प्रयोगकर्ता थिए । बिग एफएमको कार्यक्रम ‘नयाँ जीवन’मा प्रस्तोता रोजिना थापासँग ईश्वरले गरेको कुराकानीको सम्पादित अंश :
न घरपरिवारले माया गर्ने । न त समाजले नै राम्रो नजरले हेर्ने । साथीहरु पनि यसै यसै तर्किदैँ हिड्ने ।
आफूलाई चाँही जतिखेर पनि ‘ट्रिप’मा बस्न मन लाग्ने । लागुऔषधको नशामा लिन भएर आनन्द लिने चाहना झन् भन्दा झन् बढ्दै गयो । त्यसपछि त के ? लागुऔषधको जोरजाम गर्नका लागि जे गर्न पनि तयार । जब ‘ड्रग्स’को जोरजाम गर्नका लागि दिमागमा विभिन्न खाले क्राइमसम्म गर्न सक्छु भन्ने लाग्न थाल्यो, तब म झसंग भएँ ।
घर फर्किऊँ भन्ने नै लागेन । मेरो यो संसारमा कोही छैन भन्ने लाग्यो । यतिसम्म कि म आत्महत्याको बाटो रोज्न बाध्य थिएँ ।
फेरी अर्को मनले सोँच्यो, ‘हैन, आत्महत्या नै त गर्नुहुँदैन ।’
त्यसो भए के गर्ने त ? मनले मनलाई नै प्रश्न तेर्सायो । फेरी मनले नै भन्यो–‘अब सुध्रिनुपर्छ । बरु सुधार केन्द्र जान्छु । कोही न कोहीले त मलाई सहयोग गर्लान् नी ।’
यो पछिल्लो मनको निर्णय मलाई बढि निको लाग्यो ।
चिनेका दाइ थिए, टेक गुरुङ । उनैले मलाई सुधार केन्द्रसम्म पुग्न सहयोग पनि गरे । मेरो जीवनले युटर्न लिनमा टेक दाइको भुमिका निकै ठुलो छ । त्यसैले म उनलाई मेरो जीवनको गुरु मान्छु ।
बाल्यकाल अनि लागुऔषध :
म करिब ८ वर्षको थिएँ । त्यही बेला हो, बुवा र आमा छुट्टिनुभयो । बुवा एकातिर र आमा अर्कोतिर ।
घरमा हजुरबुवा र हजुरआमाको निगरानीमा म हुर्किँए । बुढो बाजेबज्यैको निगरानीमा हुर्किँदा मैले केही बढि नै खुलापन पनि पाएँ ।
मनमा कति रहरहरु थिए । ठुलो मान्छे बन्ने सपना देख्थेँ । एउटा बाल मष्तिस्कमा बुवा र आमाको ‘डिभोर्स’ले ठुलो आघात पु¥याएको थियो । र, त्यही बेला मेरा सपनाका घरहरु भत्किएका थिए ।
मन एकतमाशको हुन्थ्यो । कहिलेकाहीँ बुवा आमासँग भेट हुन्थ्यो । तर बुवाआमा आफूसँगै भएजस्तो कहाँ हुन्थ्यो र ?
बाल्यकालिन मन, यसैपनि बरालिन्थ्यो । र, त्यो बरालिने मनलाई म अझै बढि बरालिदिन्थेँ । कारण, म मेरा दुख भुल्न चाहन्थेँ । म भन्दा ठुला दाइहरुसँग म संगत गर्थेँ । दाइहरु चुरोट तान्थे, कहिलेकाहीँ मैले पनि तान्दिन्थेँ । यसरी नै मैले एसएलसी सकाएँ । पढाई पनि खासै राम्रो हुन सकेन । यद्यपि थुप्रै ग्याप राखेर भएपनि मैले ‘आई ए’ सकाएँ ।
करिब १६ वर्षको उमेरमा मैले लागुऔषध सेवन गरेको थिएँ । चुरोट तान्ने दाइहरुबाटै मैले यस्तो मौका पाएको थिएँ । त्यही बीचमा मैले रक्सी सेवन पनि गरिरहन्थेँ । १८ वर्ष टेक्दासम्म त म ‘हार्डकोर ड्रगिस्ट’ भैसकेको थिएँ । गाँजादेखि शुरु भएको लागुऔषध ब्राउन सुगर हुँदै इन्जेक्शनसम्म पुगिसकेको थियो ।
र, लहैलहैमा म लागुऔषध प्रयोगकर्ता भैसकेको थिएँ । यो मरो जीवनको सबैभन्दा कालो पक्ष पनि हो । घर परिवारले पनि मेरो आश मारिसकेका थिए ।
सुधार केन्द्रको बास र नयाँ जीवन :
जब म मृत्युलाई पन्छाएर, जीवनको बाटो रोजेँ । त्यसपछि मेरो बासस्थान सुधार केन्द्र बन्यो । गेट वे फाउन्डेशनसँग आबद्ध भएर मैले आफूलाई परिवर्तन गर्ने निर्णय गरेँ । सुधार केन्द्रमा बस्न थालेपछि म बिस्तारै परिवर्तन हुँदै गएँ ।
मैले सुधारकेन्द्रमै केही कामहरु पनि सिक्ने मौका पाएँ । त्यसपछि म त्यही फाउन्डेशनमा स्वयंसेवकको रुपमा काम गरेँ । र, त्यसको केही पछि म त्यहाँको कर्मचारीकै रुपमा नियुक्त भएँ । अहिले म यो संस्थाको सँयोजकको रुपमा कार्यरत छु ।
हाम्रो संस्थाले लागुऔषध प्रयोगकर्ताहरुलाई सुधार्ने काम गर्छ । र, यसले लागुऔषध प्रयोगकर्ताहरुको बारेमा रिसर्च पनि गर्दै आएको छ । हाम्रो अनुसन्धानलाई आधार मान्ने हो भने ८० प्रतिशतभन्दा बढि युवायुवतीहरु साथीभाईकै लहैलहैमा लागुऔषध प्रयोग गर्न शुरु गर्छन् ।
शुरुमा रमाईलोका लागि सेवन गरेपनि विस्तारै यो लत (नशा) बन्दै जान्छ । र, यसले विकराल रुप लिन्छ । यसले एउटा व्यक्तिको जीवनमा मात्रै प्रभाव पार्दैन । बरु उसको परिवार र उसको समाजसँगै पुरै देशलाई नै प्रभावित गरिरहेको हुन्छ ।
‘ड्रग्स’को लतमा फँसिसकेपछि त्यसबाट निस्कन खुब गार्हो हुन्छ । यो विष हो । र, विषको सेवनले कसैलाई पनि राम्रो गरेको मैले अहिलेसम्म सुनेको र भोगेको छैन ।
र, व्यापारिक यात्रा :
‘होप कज पेन’ अर्थात अरुसँग बढि भन्दा बढि आश गर्दा त्यसले आफैलाई दुखाउँछ । र, चाहिनेभन्दा बढि आशाबादी बन्दा त्यसले निराशाबादी यात्रातर्फ डो¥याउँछ ।
मैले लागुऔषध छाड्ने बेलामा यो कुरा बुझेको हुँ । बरु जीवनमा आफूले आफैलाई हौसला दिनुपर्छ भन्ने ज्ञान मैले पाएँ । र, आफ्नै मनले आफैँलाई दिएको हौसलाले मलाई पुर्नस्थापित गराउन अझै बढि सहयोग ग¥यो ।
अहिले म कफि शप संचालन गरिरहेको छु । ‘ड्रग्स’ छाडेको १० वर्षपछि कफिमा विज्ञता हासिल गर्नुभएका एक जना दाइसँग मिलेर मैले यो व्यवसाय शुरुवात गरेको हुँ । अरु साथीहरुका लागि पनि उदाहरण होस् भनेर मैले यसो गरेको हुँ ।
म आर्थिक रुपले त्यति बलियो नभएपनि मैले यही व्यवसायलाई अगाडि बढाउने अठोट गरेको छु । कफि शपसँगै कफि फार्मिङ मेरो अर्को सपना हो । सँगसँगै लागुऔषध विरुद्ध गेट वे फाउन्डेशनसँग मिलेर गर्ने कामले निरन्तरता पाउने त भयो नै ।
दुव्र्यसनीपछि आएको परिवर्तन :
दुव्र्यसनीबाट उत्रिएपछि मैले आफैँमा धेरै राम्रा परिवर्तनहरु पाएको छु । हो, दुव्र्यसनीमा भएको समय मेरा लागि राम्रा थिएनन् । तर ती दिनहरुबाट गुज्रेर आएकैले होला, मलाई अहिले सकारात्मक कुराहरुले बढि आकर्षित गर्छन् ।
म सामान्य रुपमा अहिलेको अवस्थामा आएको भए, शायद म देशका नेताले केही गर्न सकेनन् भन्दै गुनासो गरिरहेको हुन्थे हुँला । तर अहँ, मलाई त्यस्तो लाग्दैन । बरु ‘आफैँ गर्नुपर्छ ,हार कहिल्यै खानु हुँदैन’ जस्ता सोँच मेरो मनमा आउँछन् । जसले मलाई अझै बढि राम्रा काम गर्न प्रेरित गरिरहेका हुन्छन् । र, अहिलेको जीवनमा म निकै खुशी छु ।
मेरो परिवार मेरो साथमा छ । साथीभाई पनि मेरै नजिक छन् । परेको बेलामा सबैले साथ पनि दिन्छन् । जब म लागुऔषधलाई त्यागेर नर्मल जीवनमा आएँ, तब मलाई सबैले उत्तिकै माया गरे । त्यसैले म अहिले लागुऔषध प्रयोग गरिरहेकाहरुलाई पनि के सुझाव दिन चाहन्छु भने–‘आउनस्, तपाईलाई लागेजस्तै तपाईका घरपरिवार र आफन्तहरु स्वार्थी हुँदैनन् । बरु तपाईलाई कुलतबाट निकाल्न उनीहरुले सहयोग गर्छन् ।’
स्लिम देखिन लागुऔषध प्रयोग गर्छन् युवतीहरु :
कास्कीमा पनि बर्षेनी ११.३९ प्रतिशतले लागु औषधको प्रयोगकर्ताहरु बढिरहेका छन् । यतिसम्म की युवतीहरु त झन् स्लिम देखिनकै लागि पनि लागुऔषध प्रयोग गर्छन् । शुरुमा गाँजा तान्छन् । पछि बानी पर्छ । र, त्यो लत बन्छ ।
केटाहरु भने साथीको लहैलहैमा बढि लागुऔषध प्रयोग गर्ने गर्छन् । र, केही प्रयोगकर्ताहरु भने डिप्रेशनका कारण पनि यसमा फँसिरहेका हुन्छन् ।
प्रस्तुती : अनिश भट्टराई
तस्वीर : आरुष बराल



