
अशोक विश्वकर्मा, तनहुँ ।
तनहुँको भिमाद जाने बाटो नजिकै रहेको झरना अहिले आन्तरिक पर्यटकहरुको प्राथमिकता पर्न थालेको छ । म्याग्दे गाउँपालिका ५ थाङ्दीमा रहेको कान्छी बराही झरना प्रचारमा आएसँगै यहाँ पुग्ने पर्यटकहरु बाक्लिन थालेका हुन् । पहाडको शिरबाट झर्ने यस झरनाले पछिल्लो समयमा यस म्याग्दे आसपासका स्थानीयहरुलाई आकर्षित गर्न थालेको छ ।
झरनाको पहिचान आफुहरु सानै हुदाँ देखिनै भएको भएता पनि प्रचारमा आएको ४÷५ बर्ष मात्र भएको बताउछन् वडा न ५ का वडाध्यक्ष शिवकुमार आले । “पहिलै देखी हामीलाई त थाहा थियो, पछि प्रचार भएपछि मात्र टाढा टाढा बाट झरना हेर्न आउनेहरु बढ्न थाले ।” वडाध्यक्ष आलेले भने । “झरना हेर्न आउनेहरु सवै मोहित भएर फर्कने गरेका छन् ।”
नजिकै रहेको झरनाको बारेमा विभिन्न सञ्चार माध्यम मार्फत जानकारी पाएर हेर्न आएका दुलेगौडाका राज श्रेष्ठले झरनाले आकर्षण गरेको बताए । “थाहै थिएन, नजिकै रहेको झरना यति राम्रो रैछ, आजसम्म आएको थिइन पत्रिकामा हेरेर पढेपछि आउन मन लागेर आएको” उनले भने ।
श्रेष्ठ जस्तै साथिसँगी र सामाजिक सञ्जाल मार्फत जानकारी पाएर झरनामा हेर्न र रमाउने आउनेहरु आजभोलि बढ्न थालेको छन् । स्कुले विद्यार्थीहरु, युवा युवतीहरु दैनिक जस्तो झरना हेर्नकै लागि जाने गरेको स्थानिय समेत रहेकी कान्छी बराही टोल विकास सस्थाकी अध्यक्ष नयाँमाया थापाले बताइन् । उनले धेरैजसो झरना देखेपछि खुशी भएर फर्कनेहरु धेरै रहेको बताइन् ।
सडकबाट झण्डै १० मिनेट कच्ची बाटो यात्रा गरेपटि झरना भएको स्थलमा पुग्न सकिन्छ । झरनाको बढ्दो प्रचार सँगै यहाँ आउने स्थानीय पर्यटकहरुले भने बस्ने गोठ वा प्रतिक्षालय र झरना भएको स्थलसम्म जाने बाटोको सुविधा भए राम्रो हुने बताउँछन् ।
झरना हेर्न पुगेका श्रेष्ठले आउनेबाटो राम्रो नभएको भन्दै दिउँसो आउँदा शित्तलमा बस्ने स्थान समेत नभएकाले समस्या हुने गरेको बताए । यता वडाध्यक्ष आलेले झरनाको विकास गर्ने गरि वडा लागि परेको बताउँछन् । “मेरै कार्यकालमा झरनामा आउने पर्यटकहरुलाई सुविधा हुने गरि बाटोसँगै आवश्यक विकास गर्नेछु ।” उनले प्रतिवद्धता ब्यक्त गरे ।
यस वर्ष समेत ३ लाख रुपैयाँ बजेट झरना क्षेत्रको विकास गर्नका लागि विनियोजना भएको बताउदै आलेले यस क्षेत्रलाई धार्मिक, पर्यटकीय र कृषि गरि एकसाथ विकास गर्ने लक्ष्य रहेको बताए । झरना नजिकै कान्छी बराही मन्दिर समेत रहेकाले भक्तजनहरु समेत धार्मिक कार्यका लागि जान सक्ने र वरपर रहेको जमिनमा कृषि उत्पादन गर्ने गरि योजना बनाइएकाले त्रिपक्षीय रुपमा विकास गर्ने योजना रहेको आलेको भनाई छ ।
झरना झण्डै ७० मिटरको उचाईबाट झरेको छ । बनको विचभागमा रहेकाले पनि हत्तपत्त नदेखिने झरना स्थलगत उपस्थित हुदाँ निकै मोहक देखिन्छ । पृथ्वीराज मार्गबाट करिव ५ किलोमिटर दुरीमा रहेको झरनामा पुग्न ब्यवस्थित मार्गको अभाव रहेको छ ।
