भाउ बढेसँगै सुनको ब्यापारमा मन्दी, तीजको बेला किन्ने भन्दा बेच्नेहरु बढे-ब्यवसायी

Share:

अशोक विश्वकर्मा, तनहुँ । बजारमा सुनको भाउ आकासिएसँगै सुन ब्यवसायमा संलग्न भएकाहरु मर्कामा परेका छन् । शुक्रबारसम्म सुनको भाउ ७१ हजार ३ सय रुपैया प्रतितोला पुगेपछि सुन पसलमा ग्राहक आउनै छाडेको ब्यवासायीहरुको भनाई रहेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा समेत देखिएको प्रभावले यस बर्ष नजिकिएको नेपाली महिलाहरुको महान् पर्वले न सुन ब्यवसायीलाई छुन सक्यो न त महिलाहरुलाई नै । चाडपर्वको मौसममा ग्राहक कुरिरहेका सुन व्यापारी यतिबेला सुन किन्न भन्दा बेच्न आएका ग्राहकहरुबाट हैरान छन् ।

भाउ बढेसँगै अहिले सुन पसलमा किन्ने भन्दा पनि बेच्नेहरुको भिड बढ्ने गरेको खैरेनीटार स्थित रामदाम सुनचाँदी पसलका सञ्चालक भक्तकुमार रामदामले बताए । “ब्यापार ५० प्रतिशतमा झ¥र्याे, किन्ने भन्दा बेच्ने ग्राहक आउने गरेका छन्, सवैको सुन किन्न सकिन्न आफुले बेचेको गहना किन्नु परेको छ ।” रामदामले भने “दैनिक १० देखि १५ तोलासम्म सुन बेच्न पसलमा आउनुहुन्छ ।”  उनले आफैले ५०/५५ हजार रुपैयाँ प्रति तोला विक्री गरेको सामान खरिद गर्नुपरेको जानकारी दिए ।


मूल्य बढेको मौकालाई अवसरका रुपमा लिनेले आफूसँग भएको सुन बेच्ने गरेका छन् । अहिले सुनका गहना किन्ने भन्दा पनि बेच्न खोज्नेको संख्या बढी रहेको दुलेगौडामा रहेको स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलका राजु विश्वकर्माको भनाइ छ । सुनको मूल्य बढेपछि पसलमा आउने ग्राहकको कमि नदेखिएता पनि पसलमा सुनको कारोबार गर्नेहरु भने निकै कम भएको विश्वकर्माले बताए । “सुनको ब्यापार त ३० प्रतिशतमा झरेको छ, पसलमा म्याक्सिमम गहना विक्री गर्नेहरु आउने गर्नुहुन्छ, बढेको बेला भनेर फिर्ता पठाउन नमिल्ने त्यसैले यस पटक धेरै सुन ग्राहकबाट खरिद गरियो ।” उनले भने “पसलमा आएर भाउ सोध्नु हुन्छ थाहा पाएपछि अलि पछि आउनुपर्ला भनेर फर्कनुहुन्छ, आफ्नै ग्राहकहरुलाई पनि भाउ बढेको भन्दै घट्न सक्ने सम्भावना रहेको भन्दै फर्काइरहेको छु के गर्ने यस्तै छ ।”

तीज आयो भनेर सुनमा लगानी गरेका सुन व्यवसायीलाई निकै मर्का परेको जानकारी दिदै यस अगाडीको तिजमा जस्तो उत्साहित यसपटक नभएको बताउछन् दुलेगौडा स्थित भित्री बजारमा रहेको ॐ प्रोसन आभूषण सुनचाँदी पसलका सञ्चालक भोजबहादुर सुनार । दिनभर पसलमा बस्दा समेत कोही नआउने गरेको आफ्नो दिनभरको समयमा पसलमा बसेरै जाने गरेको सुनारले बताए । “यस पटक खबर दुखी छ, सुनको भाउ बढ्नाले पसलमा ब्यापार छैन, मनमा सन्तोष छैन ।” उनले भने यस पटकको तीजमा ब्यापारीमा उत्साह भन्दा पनि निराशा बढी हुने भयो ।”
दुलेगौडाकै बन्ेकवा कालिका सुनचाँदी पसलका सञ्चालक सुर्य गहतराज पनि ग्राहकको आगमन पुरै घटेको बताउँछन् । गहतराजले तीजको बेलामा सुन किन्नेहरु नआएर पुराना गहनाको मर्मत गर्दै बस्नुको विकल्प नभएको बताउँछन् । “ब्यापार ठप्पै छ मुस्किलले एक÷दुई जना पसलमा आउनुहुन्छ कहिले ब्यापार हुन्छ कहिले त्यहि पनि हुदैन” गहतराजले भने ।
नेपाल सुनचाँदी ब्यवसायी संघ तनहुँका अध्यक्ष कृष्ण सुनारले जिल्लामा सुनको ब्यापार आधा भन्दा बढीको घटेको बताए । ‘नेपाली महिलाको महानपर्व तीजलाई लक्षित गहना अहिले यत्तिकै थन्किएका छन् । दिनमा नै झण्डै १ सय ५० तोला सुन खपत हुने जिल्लाकोे बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्दै आकाशिएपछि सुन ब्यवसायमा लाग्नेहरुका साथै सुनको गहना बनाउने कालिगढहरुलाई प्रत्यक्ष असर पारेको उनको भनाई छ ।  “सुनको भाउ यतिको आकाशिएको धेरै भएको छैन, त्यसैले तत्काल घट्ने सम्भावना पनि छैन” सुनारले जिल्लामा १ सय ७० बढी सुनचाँदी व्यवसाय दर्ता भएको जानकारी दिदै यो ब्यवसायमा ५ सय भन्दा बढी कालिगढहरु कार्यरत रहेको बताए ।

सुनको मूल्य बढ्नुमा अन्तर्रा्ष्ट्रिय बजारमा अमेरिका र चीनबीचको पछिल्लो समय चलेको व्यापारिक द्वन्द्व नै प्रमुख कारण भएको व्यवसायीको भनाइ छ । डलरको भाउ तलमाथि भइरहेपछि सुनको भाउमा पनि अस्थिरता आउने गर्छ । अन्तराष्ट्रिय बजारकै असरले नेपाली बजारमा केही समयदेखि सुनको मूल्य बढिरहेको छ । सुनको मूल्य बढेर ८० हजार रुपैयाँसम्म पुग्नसक्ने व्यवसायीले अनुमान गरेका छन् ।

नेपाल राष्ट्र बैंकले आफ्नो मौज्दातमा रहेको सुन व्यवसायीलाई बेच्ने गथ्र्यो । केन्द्रीय रुपमा समेत झण्डै सात सय केजी सुन मौज्दात रहेको बताइएको छ । विशेषगरी साउन महिनामा सुनको मूल्य घट्ने गथ्र्योे । तीज लगायतको चाडपर्वका लागि नेपाली महिलाले गहना बनाउने समय भएकाले पसलमा भीड लाग्ने गरेकोमा यतिबेला सुनसान रहेको ब्यवसायीहरुको भनाई छ । सुनको मूल्य नेपालको बजारले निर्धारण गर्दैन । अन्तराष्ट्रिय बजारमा पेट्रोल, सुन र डलरको भाउको सन्तुलनबाट नेपाली बजारमा पनि असर पर्ने गरेको हो । नेपालीको चाडपर्व शुरु हुनै लागे पनि बजारमा किनबेच नभएकोले सुनचाँदी व्यवसायी भने निराश भएका हुन् ।

अन्तराष्ट्रिय बजारको तुलना गरेर हरेक दिन सुनचाँदी व्यवसायी संघले मूल्य निर्धारण गर्छन् । वाणिज्य बैंकले खरीद गरेर ल्याउने सुन अन्तराष्ट्रिय बजार मूल्य र डलरमा आउने उतारचढावका कारण बढ्ने गर्छ । खरीद गरेको मूल्यमा केही नाफा राखेर बैंकले व्यवसायीलाई सुन दिन्छन् । त्यो सुनमा व्यवसायीले पनि सामान्य मार्जिन राखेर बिक्री गर्ने चलन छ । ठूला व्यवसायीले भने सस्तोमा खरीद गरेर राखेको सुन महङ्गो भएको बेला बेचेर नाफा कमाउने गर्छन् ।

कमेन्ट गर्नुहोस्
Share: