गोड्ने बेलासम्म धान खेत बाँझै

Share:

अशोक विश्वकर्मा, तनहुँ ।  यति बेला देशभरको किसानहरुलाई धान गोड्नको चटारो रहेको छ । तर तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित वडा न १ शेराबेशी लगायत आसपासका स्थानमा रहेको किसानले समयमा पानी नपर्दा यस वर्ष धान रोप्न नै पाएनन् ।

यहाँका अधिकाँश खेतहरु अहिले बाँझिएरै बसेका छन् । सिंचाई सुविधा नहुनु, आकाशबाट समेत समयमा पर्याप्त वर्षा हुन नसक्दा यहाँका खेतहरुमा धान रोप्न नपाएको स्थानीयहरुले बताए । आकाशेपानीको भरमा रोपाई हुने खेत मात्र बाँझा छैनन् मुल वरपरका खेतमा लगाइएको धान समेत सुक्न थालेका छन् ।

लामो समय खडेरी परेपछि पानीका मुल सुक्दै जान थालेका कारण यहाँका किसानहरु चिन्तित बनेका छन् । शेराबेसीका स्थानिय राजेन्द्र प्रसाद पन्थीले यहाँका झण्डै २ सय रोपनी खेतमा रोपाई गर्न नपाएको बताए । “यहाँका सवै खेतहरु बाँझै छन्, एक दिन पानी परेको थियो, त्यो बेला लगाएका धान पनि हुने जस्तो छैन ।” पन्थीले भने “यहाँ मात्र हैन ज्यामिरे कोट र सुन्दरी गाउँ तिर पनि रोपाई गरेका छैनन्, पानि नै परेन ।”  उनले मध्ये असार अन्तिम सातासम्म पनि पानी नपरेर रोपाई गर्न नपाएपछि इन्द्रको पुजा गर्दै पानि मागेको स्मरण गरे । गाउँले सवै मिलेर भगवानलाई पुकारेर पानी मागेको भएता पनि खडेरी परेपछि आफुहरु मर्कामा परेको उनले सुनाए ।

शेराबेशी लगायतका स्थानमा धान रोप्नका लागि भन्दै राखिएको विउ समेत बुढो भई सकेको छ भने खडेरीका कारण पहेलो भएर काम नलाग्ने भई सकेको छन् । स्थानिय उमा पन्थीले यो वर्ष अचम्म भएको भन्दै खाने अन्न नै उब्जाउन नपाएपछि भोकै बस्नुपर्ने अवस्था देखिएको बताइन् । “विहे भएको १८ बर्ष भयो अहिलेसम्म यस्तो भएको थिएन, यो वर्ष अचम्मै भयो, अव त भोकै मरिने भयो” उनले भनिन् “पानी आउला र खेतमा धान नै रोपौँला भनेर कोदाको विउ पनि राखिएन, खेत बाँझै देख्दा उराठ लागेर आउँछ ।” उनले खेतको केही दुरी हुदै बग्ने गुवे खोलाबाट पानी तानेर खेत रोप्न सकिने अवस्था हुदाँ पनि सिँचाई सुविधाको लागि कसैको ध्यान नपुगेको बताइन् । रुपा तालको पानी पनि ल्याउन सकिने भन्दै पन्थीले सम्वन्धित ब्यक्ति र निकायले चासो दिए किसानहरु समस्यामा नपर्ने जनाइन् । “चुनावमा मात्र हो यस्तो र उस्तो भन्ने त समस्या पर्दा त कोही पनि आउदैनन” पन्थीले भनिन् ।

यस्तै बाँझो खेत देखाउदै मन नै खिन्न हुने गरेको अर्का किसान ऋषिराम पन्थीले बताए । “साउन मासमा खेत बाँझै छन्, काम गर्न पनि पाइएन, मान्छेलाई त जसो तसो निर्वाह हुन्थो गाई बस्तुलाई के खुवाउने पराल पनि नहुने भो ।” उनले भने “कोदोको विउँ राख्न पाएको भएपनि खेत बाँझो बस्ने थिएन, तिन तिन पटक सम्म धान रोप्ने आशामा विउ राखेको पनि काम लागेन ।”
यता कृषि विकास शाखा शुक्लागण्डकी नगरपालिकाका प्रमुख नवराज पण्डितले समयमा बर्षा नभएकै कारण यस वर्ष नगरपालिकाबाट धान उत्पादनमा ह्रास आउने बताए । “९५ प्रतिशत रोपाई हुनुपर्ने हो यो बर्ष ८४ प्रतिशत जमिनमा मात्र रोपाईको छ, त्यसकारण पनि उत्पादन घट्ने सम्भावना छ ।” पण्डितले भने “आकाशे पानि परेका स्थानमा पनि पछि पानी नपरेकाले धान बालि राम्रो हुन सकेको छैन ।”
उनले नगरपालिकाको ढोरफिर्दी, शेराबेशी, जाम्दी र साँखे लगायतका स्थानमा रहेको खेतहरु धान उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेका छन् । उनले नगरपालिका अन्तर्गत गरेका ६००० हेक्टर जमिनमा धान उत्पादन हुने भएता पनि ५ सय ५० हेक्टर जमिनमा मात्र सिँचाई सुविधा पुगेको जानकारी दिए ।

नगरपालिका भित्र १ हजार ५ सय हेक्टर जमिनमा बर्षातको पानी नपर्दा रोपाई नभएको बताउदै कृषि शाखा प्रमुख पण्डितले खेत बाँझै भएका स्थानमा बोडी उत्पादन गर्न किसानहरुलाई आग्रह गरेको बताए । नगरपालिकाको कृषि शाखाले कृषि विपत् ब्यवस्थापनका लागि २ लाख ५५ हजार रुपैया बजेट समेत विनियोजन गरेको धान रोप्न नपाई बाँझो भएका खेतमा अन्य बालि लगाउने किसानहरुलाई विउ लगायतमा शाखा मार्फत सहयोग गरिने उनले बताएका छन् ।

यस्तै कृषि ज्ञान केन्द्र तनहुँले जिल्लामा ९० प्रतिशत जमिनमा मात्र रोपाई सम्पन्न भएको जनाएको छ । जिल्लामा अधिकाँश खेत आकाशे पानीको भरमा रोपाई हुने बताउदै १२ हजार २ सय ७० हेक्टर जमिन मध्ये ११ हजार ७ हेक्टर जमिनमा मात्र रोपाई भएको केन्द्रका बागवनि अधिकृति शंकर पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: