ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध

Share:

पोखरा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) लाई कास्कीमा प्रवेश निषेधको निर्णय गरेको छ । युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेधको घोषणा गरेको हो ।

तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा शाहीले समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।

फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी उनले भ्रम छरेको उनीहरुको तर्क छ ।

‘पछिल्लो समय ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) जस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गरेको जानकारी गराउदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलव्धिका पक्षमा उभिनुभई सहयोग गर्न अपिल गर्दर्छौँ,’ राष्ट्रिय युवा संघको विज्ञप्तिमा उल्लेख छ ।

थुनामुक्त भए शाही

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ । नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको दुर्व्यवहारको विषयमा स्पष्टिकरण दिन शाहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा घम्साघम्सी भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।

ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले शाहीलाई हिरासतबाट मुक्त गरिएको बताइन् । प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ पुर्जी थमाएको थियो ।

पर्यटन मन्त्रीलाई दुर्व्यवहार गरेको अभियोगमा ज्ञानेन्द्र शाही पक्राउ

कमेन्ट गर्नुहोस्
Share: