
पोखरा । पोखराको फेवातालमा बुधबार भेटिएको शवको पहिचान भएको छ । सो शव पोखरा-१७ घारीपाटनका आश बहादुर गुरुङको रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले बिगखबरलाई जानकारी दिए ।
४२ वर्षीय गुरुङको शव बुधबार दिउँसो ड्यमसाइड क्षेत्रमा भेटिएको थियो । माछा मार्न गुरुङ बिहानैबाट तालमा पुगेका थिए ।
मादक पदार्थ सेवन गरेको जस्तो देखिएका उनी दिउँसो एक्कासी तालमा हाम फालेको स्थानीयले प्रहरीलाई बताएका छन् । तर उनले मापसे गरेको नगरेको बारे पोष्टमार्टमपछि नै थाहा हुने डिएसपी शाहले बताए ।
‘मापसे गरेर हाम फालेको भन्ने कुरा प्रत्यक्षदर्शीबाट आएको छ,’ उनले भने, ‘मापसे गरे/नगरेको पोष्टमार्टमपछि थाहा हुन्छ ।’ प्रहरीले माछा मार्दा चिप्लिएर तालमा खसेको हुनसक्ने अनुमान गरेको छ ।
बुधबार दिउँसो तालमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी र गोताखोरको टोलीले उनको शव तालबाट निकालेको थियो ।
उनको शव अहिले पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घट्ना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
फेवातालमा डुङ्गा सयर गर्दा, पौडी खेल्दा वर्षेनी धेरैले ज्यान गुमाउने गरेका छन् । तालमा हाम फालेर आत्माहत्या गर्ने गरेको पनि पाइन्छ ।
खराब मौसम, पौडी खेल्न नजानी तालमा पस्नाले र पर्याप्त होसियारी नअपनाउँदा फेवासँगै बेगनास तालमा यस्ता घटना बढ्दै गएको छ ।
सम्बन्धित समाचार – माछा मार्न गएका युवकको शव फेवातालमा भेटियो
