मासुको विज्ञापनमा गाईको तस्वीर : सरकारले माफी माग्यो, राप्रपाको आपत्ति

Share:

काठमाडौं – स्वच्छ मासुको प्रचारका लागि बनाएको पोस्टरमा गाईको तस्वीर परेकोमा पशु सेवा विभागले क्षमायाचना गरेको छ ।

विभागका महानिर्देशक डा. वंशी शर्माले विज्ञप्ति जारी गर्दै क्षमायाचना गरेका छन् । पोस्टरमा छपाईको त्रुटिका कारण गाईको तस्वीर भूलवश परेको उनले बताएका छन् ।

‘हाल उक्त त्रुटिलाई सच्याइसकिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदै प्राविधिक कारणले हुन गएको त्रुटिप्रति पशुसेवा विभाग हार्दिक क्षमायाचना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

तस्वीरमा मासु, माछा, जीवित भेडा, बंगुर, राँगा (भैसी), हाँस, पाठीलाई दूध चुसाउँदै गरेको बाख्रा र गाईको तस्वीर राखिएको छ ।

एउटा मोबाइल भ्यानमा टाँसिएको विज्ञापनको विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । ‘बधशालादेखि भान्सासम्म, स्वच्छ र स्वस्थ मासु’ लेखिएको उक्त विज्ञापन सन्देशमा गाईको फोटो समेत राखिएको थियो ।

राप्रपाको आपत्ति

गाईलाइ मासुजन्य जनावरको रुपमा प्रचार गरेको प्रति राप्रपाले आपत्ति जनाएको थियो । गाईको तस्बिर संलग्न गरिनु दुःखद र दुर्भाग्यपूर्ण रहेको राप्रपाको तर्क छ ।

‘यो नियतवश वा भुलवश के हो भन्ने बारेमा अबिलम्ब छानबिन गरि दोषीलाई कडा कारबाही गर्न सरकारसँग राप्रपा माग गर्दछ’, राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: