
काठमाडाैँ । आज दशैंको मुख्य दिन अर्थात् विजयादशमी । मान्यजनबाट रातो टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ । घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाइन्छ ।
आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ । यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक मान्यता रहि आएको छ ।
आज बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको उत्तम साइत रहेको छ । यस्तै देवी विसर्जनपछि टीका लगाउने उपयुक्त समय भने बिहान १० बजेर ३५ मिनेट जुरेको छ ।
नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरेपछि दशैं प्रारम्भ हुन्छ । जमरा जति लामो र पँहेलो हुन्छ दुर्गा भगवती त्यति नै प्रसन्न भएको मानिन्छ ।
नवरात्रभर दैनिक भगवती दुर्गाको नौ स्वरुपको पूजा यस घडामा गरिन्छ । दुर्गा भवानीको नौ स्वरुपमा नवदुर्गा भन्नाले शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिरात्रीलाई बुझिन्छ ।
यसै गरि नवरात्रका विशेष दिन महासप्तमी महाअष्टमी र महानवमीको दिन क्रमश महासरस्वती, महाकाली र महालक्ष्मीको विशेष आराधना गरिन्छ ।
मातृशक्तिको आराधना गर्दै अंकुराएको जमरा विजया दशमीको दिन आफ्ना कुलदेवताहरुलाई अर्पण गरेपछि मात्रै टिकामा प्रसाद स्वरुप लगाउने गरिन्छ । दशैंमा दही र अबिरसहितको अक्षता र जौंको जमरा लगाउने चलन छ ।
यसैबीच हामीले ब्राह्मण समाज पोखराका अध्यक्ष चिरन्जीवी बराललाई दशैंमा दही मिसाइएको टिका र जौंको जमरा किन लगाइन्छ भनेर सोधेका छौँ ।
