
पोखरा । पोखराको व्यस्त बजार चिप्लेढुङ्गाको सडकपेटीमा बिछ्याइएको अपाङ्गमैत्री टेक टायल दुई महिना नहुँदै उप्किन थालेको छ । उपभोक्ता समितिमार्फत चिप्लेढुङ्गादेखि सिद्धार्थचोकसम्म डेढ महिना अगाडि त्यहाँ अपाङ्गमैत्री टेक टायल राखिएको थियो ।
पछिल्लो १० दिनयता अहिले ती टायलहरु उप्किन थालेका छन् । दायाँबायाँ गरेर झण्डै ७ सय मिटर क्षेत्रमा भैरहवाको एसियन कंक्रिट प्रा.लिले त्यहाँ टाइल बिछ्याएको थियो । सडकपेटीमा रहेको पहेँलो रङको सो टायल उप्किन थालेपछि अहिले फेरि मर्मत गर्न थालिएको छ ।
चिप्लेढुङ्गादेखि सिद्धार्थचोकसम्मको सडकको दुवैतर्फ हिँडडुल गर्न रोक लगाएर कम्पनीले टेक टायल लगाएको थियो । फुट ट्रयाकमा जथाभावी मोटरसाइकल चलाउनाले छोटो समयावधिमा नै टायल उप्किएको कम्पनी बताउँछ ।
सर्वसाधरण हिँड्नका लागि बनाइएको पेटीमा जथाभावी मोटरसाइकल चलाउनाले छिटो उप्किएको एसियन कंक्रिटका सिभिल इन्जिनियर मोहन गौतमको भनाई छ । ‘यसको धेरै भार थेग्ने क्षमता हँदैन, मान्छे हिँड्नका लागि बनाइएको हो,’ उनले भने, ‘मोटरसाइकल गुडाउदा पनि यसलाई असर पर्छ, यो छिटो उप्किनुको कारण पनि चालकको लापरबाही नै हो ।’
इन्जिनियर गौतमले अब अरु क्षेत्रमा बनाउदा रासायनको प्रयोग गरेर बलियो बनाउने बताए । स्थानीय एक कपडा पसलमा काम गर्ने विष्णु भुर्तेल पनि मोटरसाइकल चलाउँदा टायल छिटो उप्किएको बताउँछन् । ‘¥याली वा कुनै कार्यक्रम हँदा यहाँ निकै जाम हुन्छ, त्यस्तो बेला मोटरसाइकलवालाले फुटपाथबाट गुडाउँछन्,’ उनी भन्छन्, ‘मैले प्रत्यक्ष यहाँ धेरैपटक मोटरसाइकल गुडाएको देखेको छु ।’
महानगरको वडा नं ४, ८ र ९ का मुख्य बजार क्षेत्रलाई जोड्ने गरी उपभोक्ता समितिमार्फत फुट ट्रयाक बनाउने काम भने अहिले पनि जारी छ । जेठबाट ६ महिनामा सक्ने गरी महानगर र कम्पनी बीच सम्झौता भएको थियो । यसमा महानगरको ६० र कम्पनीको ४० प्रतिशत लगानी छ ।
महानगरले फुट ट्रयाक बनाउनका लागि एक करोड बजेट छुट्याएको थियो । महानगरले त्यहाँ फुटपाथ बनाउँदा आलोचना नभएको भने होइन । पहिले नै राम्रो रहेको फुटपाथ भत्काएर फेरि बनाउनु बजेट सक्ने काम मात्र भएको भन्दै आलोचना भएको थियो ।
बिपी चोकदेखि सिद्धार्थसम्म फुट ट्रयाक बनाउने काम सकिए पनि महेन्द्रपुलमा बनाउने क्रम जारी रहेको महानगर प्रमुख मानबहादुर जीसीले जानकारी दिए । उनले पोखराका मुख्य बजारमा ट्राफिक लाइट जडानको काम पनि अगाडि बढिरहेको बताए ।
नगर प्रमुख जीसीले दुई महिना अगाडी पोखरामा आयोजित एक कार्यक्रममा पोखरामा मंसिरमा हुने १३ औं साग अघि नै पोखराका मुख्य बजारमा ट्राफिक लाइट जडान गर्ने बताएका थिए ।
