तनहुँको भानुमा चितुवा खोरमा परेकै साँझ फेरि ७ वर्षीय बालकको ज्यान लियाे

Share:

तनहुँ । तनहुँको भानु नगरपालिकामा चितुवाको आतंकले स्थानीयको मनबाट डर अझै हराएको छैन ।एक चितुवा खोरमा परेकै साँझ सोमबार फेरि एक बालकको ज्यान गएको छ । भानु २ फुर्सेटारका ७ वर्षीय बालक रितिक रोकाको सोमबार चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

घरमा खेल्दै गरेको अवस्थामा चितुवाले बालकलाई आक्रमण जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
‘घरमै खेल्दै गरेको अवस्थामा चितुवाले बालकलाई आक्रमण गरेको रैछ’ डिएसपी लामिछानेले भने, ‘घर जंगल नजिक रहेको र बालकलाई घरबाटै लगेको रैछ ।’ डिएसपी लामिछानेका अनुसार चितुवाले बालकको तिघ्रा र गुप्ताङ खाएको छ ।

बालकको घर भानुको नगरपालिका र सारदा क्याम्पस नजिक रहेको प्रहरीले जनाएको छ । भानु नगरपालिकाको कार्यालयबाट करिव ५० मिटर माथीको जंगलमा चितुवाको आक्रमणमा परि बालक रोकाको मृत्यु भएको हो । बालक साढे ६ बजेबाट हराएका थिए । हराएपछि खोजी गर्ने क्रममा साढे सात बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मामाघरमा हजुरबुबासँग बस्दै आएका थिए बालकलाई घरमा कोहि नभएको बेला एक्लै भएको अवस्थामा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । भानु-२ स्थित मजुवा ओख्ले सामुदायिक बनमा बालक मृत अवस्थामा भेटिएका हुन ।

उक्त सामुदायिक बनमा २ वटा काठको खोर बनाइएको छ । हिजो आइतबार राती मात्रै भानु-३ दोरदोरटार देउराली सामुदायिक बनमा निर्माण गरिएको काठको खोरमा एउटा चितुवा पासोमा परेको थियो । उक्त चितुवालाई सोमबार बिहान चितवन राष्ट्रिय निकुञ्ज पठाइएको थियो ।

यसरी बारम्बार चितुवाको आक्रमण बढ्न थालेपछि स्थानीय र जिल्लाबासी चिन्तित बनेका छन । भानु नगरपालिकामा ९ वटा सामुदायिक बन रहेको छ । जसमध्ये ३ वटा सामुदायिक बनमा ४ वटा काठको खोर बनाइएको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए ।

बाँकी ६ वटा सामुदायिक बनमा पनि तिहार लगत्तै काठको खोर बनाइने डिभिजन बन प्रमुख बरालले बताए । भानु-२ को मजुवा ओख्ले सामुदायिक बनमा २ वटा काठको खोर निर्माण गरिएको छ ।

त्यस्तैगरि देउराली सामुदायिक बन र भिमसेन सामुदायिक बनमा १/१ वटा काठको खोर निर्माण गरिएको डिभिजन बन प्रमुख बरालले जानकारी दिए । स्थानीयका अनुसार बच्चा सहितको पोथी चितुवाले भानुका बालबालिका र जीवजन्तुलाई आक्रमण गरेको बताउँछन ।

सोमबार खोरमा परेको चितुवा भने भाले हो । सोमबार साँझको घटनासँगै भानुमा चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको । यस्तै अहिलेसम्म चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन ।

यो पनि-परम्परागत पासोमा यसरी पर्यो नरभक्षी चितुवा (भिडियो हेर्नुहोस)

कमेन्ट गर्नुहोस्
Share: