
गोरखा । गोरखामा लोपोन्मुख प्रजातिको सालक फेला परेको छ । जिल्लाको गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा सोमबार भारतीय प्रजातिको भएको डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिए ।
विश्वभर सबैभन्दा बढी तस्करी हुने यो जनावर नेपालमा भारतीय र चिनियाँ गरी दुई प्रजातिको पाइने गर्दछ । सालकको आहारा कमिला, धमिरालगायतका कीरा भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने बल्छौडीले बताए ।
लोपोन्मुख प्रजाति मानिने सालकको अवैध सिकारसमेत हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी शिकार गर्ने गरेको पाइन्छ ।
यस प्रकारको प्रजाति समुद्र सतहदेखि एक हजारदेखि दुई हजार २०० मिटरसम्मको उचाइमा पाइने गरेको छ । राति आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्छ। कतैबाट आक्रमणको चाल पाउँदा डल्लो परेर बस्छ ।
नेपाली सेनाको रणसिंह दल गण गोरखाले उद्धार गरी डिभिजन वन कार्यालय गोरखामा बुझाएको सो सालकलाई गोरखा नगरपालिकाको देउरालीमा रहेको राजदेवी सामुदायिक वनमा छाडिएको छ ।
