
काठमाडौं । भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बैतडीको पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरालाई पक्राउ गरेको हो ।
रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका–५ दहतोलीका हरिश बोहरा, उनका सहोदर भाइ वीरा बोहरा र पुर्चौडी नगरपालिका–४ भटना तडीखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा विभत्स रुपमा शव फेला परेको थियो ।
पक्राउ परेका धनबहादुर मृतक हरिश बोहराका भतिजा नाता पर्ने रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पक्राउ परेका बोहराले आफूले नै तीनै जनाको हत्या गरेको स्वीकार गरेका छन।
धनबहादुर आफैंले हसियाले उनीहरुको लिंग काटेको प्रहरीलाई बताएका छन। कात्तिक ८ गते चारै जनाले रक्सी पिएका थिए । जबरजस्ती गरेर अझै रक्सी खुवाउन खोज्दा आफूले रक्सीले मातेको अवस्थामा तीनै जनाको हत्या गरेको धनबहादुरले भारतीय प्रहरीलाई बयान दिएका छन।
