
काठमाडौं– आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि कास्कीसहितका चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
निर्वाचन आयोगका अनुसार कास्की, भक्तपुर, बाग्लुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आज स्थापना भएको हो । स्थानीय तहको मात्र निर्वाचन हुने ३३ जिल्लामा भने आगामी बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोलिनेछ ।
उपनिर्वाचनका लागि मुलुकका ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि यही कात्तिक २१ गते उम्मेदवारी दर्ता हुनेछ । स्थानीय तहका सदस्यको रिक्त पदका लागि भने कात्तिक २७ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम तय भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रचारप्रसारको अवधि १६ दिनको हुने छ भने स्थानीय तहका उम्मेदवारले प्रचारप्रसारका लागि १० दिन समय पाउनेछन् ।
उपनिर्वाचनका लागि कायम भएका चार लाख ५४ हजार ११४ मतदातामध्ये महिला दुई लाख ३३ हजार ४०२, पुरुष दुई लाख २० हजार ७१० र अन्य लिङ्गी दुई जना रहेको आयोगले जनाएको छ ।
उपनिर्वाचनका लागि २४७ मतदान स्थल कायम गरिएको छ भने ५३७ मतदान केन्द्र स्वीकृत भएका छन् । एक मतदान केन्द्रमा बढीमा एक हजार १०० सम्म मतदाता रहन सक्नेगरी मतदानस्थल तोकिएको छ ।
