
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा अन्तरराष्ट्रिय स्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको छ ।
नेपाल एसोसिएशन अफ र्याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ अन्तर्गत र्याफ्टिङ र कायक प्रतियोगिता हुन लागेको हो ।
कर्पोरेट र्याफ्टिङ रेस प्रतियोगितामा भाग लिने टोलीलाई रु ७५ हजार दर्ता शुल्क लाग्ने नाराले जनाएको छ । र्याफ्टिङ रेस प्रतियोगितामा प्रथम हुने समूहलाई रु एक लाख, दोस्रो हुनेलाई रु ५० हजार तथा तेस्रो हुनेलाई रु २५ हजार नगद प्रशंसापत्र र मेडल प्रदान गरिनेछ ।
यस्तै, कायकतर्फ दर्ताशुल्क विदेशी खेलाडीलाई रु पाँच हजार ५०० र स्वदेशी खेलाडीलाई रु तीन हजार लाग्नेछ । तीनै प्रकारका कायकमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिने नाराका महासचिव शिशिर खनालले जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि हुने उक्त प्रतियोगितामा स्वदेश तथा विदेशका झण्डै ४०० खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै ७० लाख खर्च हुने नाराले जनाएको छ ।
सन् २००२ बाट कायक र र्याफ्टिङ प्रतियोगिता गराउँदै आएको नाराले पछिल्लो समय विदेशी खेलाडीलाई समेत आमन्त्रण गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
