
काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (मङ्गलबार) नेपालको औपचारिक राजकीय भ्रमणमा आउँदै छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आउन लागेका हुन्।
कात्तिक २६ गतेदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहने राष्ट्रपति हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् ।
उनको स्वागतमा त्रिभुवन विमानस्थलदेखि राजधानीका विभिन्न सडकलाई झकिझकाउ बनाई सिँगारिएको छ। राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा भोली अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनी नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा भोली बेलुका राजकीय भोज आयोजना गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने बताइएको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्ने बताइएको छ ।
नेपाल बसाइका क्रममा बङ्गलादेशका विशिष्ट अतिथिले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल, प्रागऐतिहासिक तथा सांस्कृतिक क्षेत्र, पोखरालगायत पर्यटकीय क्षेत्रको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम छ।
