
म्याग्दी – खुकुरी प्रहारबाट स्थानीय विद्यालयकी प्रधानाध्यापक गम्भिर घाइते भएकी छिन् । बुधबार विहान करिब साढे ९ बजे म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङबाट खबाङ स्थित विद्यालयतर्फ जाँदै गरेकी राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गरेका थिए ।
बाटोमा हिँडीरहेकै अबस्थामा प्रअ पुनमाथि एककासी खुकुरी प्रहार गरि आक्रमण भएको र उनी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
खुकुरी प्रहारबाट बाटोमै बेहोस भएकी प्रअ पुनलाई प्राथमिक उपचार गरि मालिका गाउँपालिकाको समन्वयमा हेलिकप्टरको व्यवस्थापन गरी मणिपाल शिक्षण अस्पतालमा ल्याइएको स्थानीय शिक्षक भुपेन्द्र पुनले जानकारी दिए ।
खुकुरी प्रहार गरेका पुन अहिले फरार रहेका छन् । उनको खोजीकार्यको लागि ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।
