बंगलादेशी राष्ट्रपति हमिद फेवा ताल सहित रुपाकोट रिसोर्ट जाने, खर्च प्रदेश सरकारले बेहोर्ने

Share:

पोखरा। नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भोलि बिहीबार पोखरा आउंदै छन् । उनी नेपाली सेनाको हेलिकप्टर मार्फत पोखरा आउने कार्यक्रम रहेको छ। काठमाडौंबाट १ बजे पोखरा प्रस्थान गर्ने हमिद भोलि नै साढे चार बजे काठमाडौं फर्किने कार्यक्रम छ ।

छोटो समय पोखरा आउन लागेका राष्ट्रपति हमिद पोखराको फेवा ताल संगै रुपाकोट समेत जाने भएका छन् । हमिद भ्रमणका क्रममा रुपाकोट पुग्ने कार्यक्रम तय भएसँगै यहाँ तयारी तीव्र पारिएको छ ।

पोखरा भ्रमणका क्रममा रुपाकोट रिसोर्ट आउन लागेका राष्ट्रपति हमिदको स्वागतार्थ तयारी तीव्र पारिएको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति हमिदको स्वागतार्थ गाउँपालिकाको प्रवेशद्वार खोलाको छेउ, रुपाकोट रिसोर्ट प्रवेशद्वारमा आकर्षक एवं भव्य स्वागतद्वार निर्माण गरिएको छ ।

यस्तै उनलाई पोखरामा प्रदेशका कार्यबाहक मुख्यमन्त्री एवं अर्थमन्त्री किरण गुरुङले स्वागत गर्ने भएका छन्। प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषदको बैठकले हदिमको पोखरा भ्रमण कसरी सफल बनाउन सकिन्छ भन्नेबारे निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

यस्तै राष्ट्रपतिको पोखरा भ्रमणको बेला हुने सबै खर्च समेत प्रदेश सरकारले बेहोर्ने भएको छ। उनको स्वागतमा पोखरामा स्वागतद्वार निर्माण गरिएको छ। पोखरा विमानस्थल अगाडि स्वागतद्वार निर्माण गरिएको हो। ठाउँ-ठाउँमा नेपाल र बंगलादेशको झण्डा पनि राखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: