प्रधानमन्त्रीले भने – अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउँछौं

Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमि फिर्ता ल्याइछाड्ने बताएका छन्। नेपालका भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान पनि भारतलाई उनले आग्रह गरे।

नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए । प्रधानमन्त्री ओलीले नेपालले आफ्नो एक इन्च भूमि मिच्न नदिने भन्दै अरुको पनि जमिन नचाहिने बताए ।

प्रधानमन्त्री अ‍ोलीले यो सरकारले बिदेशी फौज फिर्ता गराउने समेत प्रष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले नेपालको नक्सा सच्याउने मात्रै नभई अतिक्रमित भूमि फिर्ता ल्याउने ठोकुवा गरेका हुन्।

उनले सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताए । प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको धारणा व्यक्त गरे ।

उनले केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा नरहेको बताए । कात्तिक १६ गते भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालका लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेपछि त्यसबारेमा नेपालमा भारतको तीव्र विरोध भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: