
पोेखरा । चुनावको मिति नजिकिएसँगै साझा पार्टीले अहिले मतदाता भेटघाटलाई तीव्रता दिइरहेको छ । देशका रिक्त क्षेत्रमा पार्टीका उम्मेदवार घरदैलोमा व्यस्त छन् । कास्कीमा पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी केसीलाई साथ दिन पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्र पनि पोखरा छन् ।
उनीसहित पार्टीका नेता÷कार्यकर्ता निर्वाचन क्षेत्रका टोलटोलमा खटिएका छन् । घरदैलोकै क्रममा संयोजक मिश्र र उम्मेदवार केसीसहितको टोलीले सोमबार निर्वाचन क्षेत्रअन्तर्गत पोखरा–१६ का मतदातासँग भेटघाट गरेको छ । सो टोली वडाअन्तर्गत लामाचौर, बाटुलेचौर, अर्मला, जैमुरे, महेन्द्र गुफा पुगेको थियो ।
मतदाता भेटघाट पछि बाटुलेचौरमा आयोजित साझा सभालाई सम्बोधन गर्दै संयोजक मिश्रले भोट मागेर सत्तामा पुगेकाहरुको जीवनशैली परिवर्तन भए पनि जनताको स्तर उकासिन नसकेको बताए । साझा पार्टी जनताको पार्टी भएको बताउँदै उनले जनताको सपनामा कहिल्यै घात नगर्ने स्पष्ट पारे ।
‘फाटेको कमिज र फाटेको टोपी लगाएर नेताहरुलाई महंगो सुट लगाउने बनायौं,’ संयोजक मिश्रले भने, ‘अब सचेत बनौं, एक भोटले परिवर्तन सम्भव छ ।’ उनले देशमा देश भ्रष्टाचारले आक्रान्त बनेको भन्दै चिन्ता व्यक्त गरे ।
सभालाई सम्बोधन गर्दै उम्मेदवार केसीले परिवर्तनका लागि जनता सचेत हुने समय आएको बताइन् । उनले भनिन्,‘ नीति निर्माणमा खटिनु पर्ने सांसदलाई ठेकेदार बनाइएको छ, भ्रष्टाचार रोक्न सके देश बदल्न विदेशिको अगाडि घुँडा टेक्नु पर्दैन ।’ उनले देशको राजनीतिक परिस्थिति नबदलिएसम्म देश पछाडि नै परिरहने टिप्पणी गरिन् ।
चुनाव प्रचारमा पुगेका साझाली सरसफाईमा
साझा पार्टीले मतदाता भेटघाटसँगै सरसफाईलाई पनि निरन्तरता दिइरहेको छ । कास्की क्षेत्र नम्बर २ का विभिन्न ११ वडामा विहानदेखि साँझसम्मै पार्टीका नेता कार्यकर्ताको भीड देखिन्छ । मतदानको मिति नजिकिएसँगै साझा पार्टी पनि मतदाता भेटघाटमा व्यस्त छ ।
सोमबार मतदाता भेट्न उम्मेदवार रजनी केसी सहितको टोली वडा नम्बर-१६ पुग्यो । मतदाता भेट्न पुगेका साझाली सरसफाईमा जुटे । तर, यो साझालीहरुले पहिलोपटक गरेको कार्यक्रम भने थिएन । कुनै कार्यक्रम गर्नु पहिले सरसफाइ गरिन्छ अनि मात्र कार्यक्रम सुरु हुन्छ । सोमबार पनि प्रदेश र जिल्लाको नेतृत्वमा चुनाव प्रचारमा पुगेका साझाली सरसफाईमा जुटे ।
जनतामा अझै पनि चेतनाको कमी रहेको र सकरात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सरसफाईलाई निरन्तरता दिने गरेको पार्टीका कास्की जिल्ला सदस्य एकराज न्यौपानेले जानकारी दिए । सोमबार पोखरा-१६ को बाटुलेचौरमा घरदैलो गर्न पुग्दा पनि साझालीले त्यसैलाई निरन्तरता दिए । मंगलबार पोखरा–११ मा घरदैलो कार्यक्रम गरिने जिल्ला संयोजक अर्जुन प्रसाद खनालले जानकारी दिए ।
सम्बन्धित समाचार::
पोखरा–२१ मा साझा पार्टीको घरदैलो
मन र मत परिवर्तन गर्ने समय आयो : उम्मेदवार के.सी
कास्की २ को उपनिर्वाचनको माहौलबाट फर्किएपछि साझाका प्रवक्ता डा. आचार्य के भन्छन् ?
कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने
अब पनि चुप बसे देश कुन बेला बेचिन्छ थाहा छैन : उम्मेदवार के.सी

