खाजा घरले फेरिएको ‘ढकाल मामा’ को जीवन

7901
0
Share:

अनिष भट्टराई, पोखरा । गैह्रापाटनका मेघनाथ ढकाल सबेरै उठ्छन् । उनीसँगै पत्नी पद्मा समेत उठ्छिन् । ढकाल दम्पति सबेरै ४ बजे उठेर आफ्नो नित्य कार्यमा लाग्छन् । यस्तो दैनिकी १२ वर्षदेखि जारी छ । उनीहरुलाई ब्यस्तता यस्तो छ कि, आफ्नो लागि खाना पकाउने समेत समय हुँदैन । दिनहुँ ५ सय बढी ग्राहक खाजाकै लागि आउने ढकाल बताउँछन् ।

बिहान ५ बजेदेखि राति ९ बजेसम्मै ढकालको पसलमा चहलपहल हुन्छ । ढकाल भन्छन्– ‘बिहानैदेखि ग्राहक आउनुहुन्छ, त्यसैले खाना पकाउने पनि फुर्सद हुँदैन । छोराछोरी खाजा मात्रै खाएर पढ्न जान्छन् ।’

ढकालले २०६४ सालदेखि खाजा घर सुरु गरेका हुन् । खाजा पसल खोलेपछि उनको भाग्योदय नै भएको छ । सहयोगी श्रीमतीको साथले खाजा पसल फस्टाउँदै अहिले जिवन नै प्रगतिपथमा लम्किरहेको छ । जेठो छोरो इन्जिनिएरिङ अध्ययनरत छन् । छोरीहरु ९ कक्षा र एलकेजीमा पढिरहेका छन् । उनलाई ढकाल मामा भनेर चिन्ने धेरै छन् ।

१२ वर्ष अघिको समय ढकाललाई कठिन थियो । परिवारका सदस्यको ईच्छा त परको कुरा, हातमुख जोड्न समेत धौ–धौ थियो । परिवारको कमजोर आर्थिक अवस्थाले पिरोल्थ्यो । त्यसैले त उनी दुई पटकसम्म देश छाडे । आठ वर्ष उतै बिताए ।

घरको कमजोर आर्थिक अवस्थाको कारण बाध्यता र अरुको लहलहैमा सुरुमा कतार पसे । पहिलो पटक विदेश पसेका उनले सुरुमा राम्रै कमाइ गरे । कतारमा ३ वर्ष काम गरे अनि नेपाल फर्किए । नेपाल फर्किए पछि २०५४ सालमा विवाह गरे । विवाहपछि झनै जिम्मेवारी बढ्यो । पहिलोपटक विदेशबाट ल्याएको कमाई बिहेबारी र घरयासी काममै सकियो ।

फेरि, विदेश जानुको विकल्प रहेन । गन्तव्य फेरे, कतार होइन, उस्तै ठाउँ साउदी । तर, यसपटक झनै सोचेनुरुप भएन । उनले साउदीमा राम्रो कमाइको त कुरै छोडिदिउँ, त्यहाँ राम्रो खाने र बस्ने समेत सुविधा पाएनन् । साउदीमा ५ वर्ष बन्दीको रुपमा बसेको ढकाल बताउँछन् ।

उनले पछि भागेर एउटा घरमा काम थाले । पैसा जम्मा गरे । त्यही पैसाले नेपाल फर्किए, साथमा केही थिए । नेपाल फर्केपछि पुनः विदेश जाने सोच नआएको होइन, तर गएनन् । ढकालका दाइ पहिल्यैबाट खाजा घर त सञ्चालन गर्दथे । तर, त्यस खाजा घरले मनग्य आम्दानी कमाउन सकेको थिएन ।

दाइसँग खाजा घरमा काम सिक्न थाले । काम जानीसकेपछि उनले पनि दाइले झैँ खाजा घर खोल्ने निर्णय लिए । दाइले नै केही रकम खाजा पसल खोल्नका लागि दिए । जोसले भरिएका ढकालले खाजा पसल खोले । खाजा पसल खोलेपछि भने उनले पछाडि फर्किएर हेर्नु परेन ।

विदेश जान खोज्ने जो कोहीलाई पनि ढकाल विदेश नजान सुझाव दिन्छन् । घर र देशबाट टाढा रहेर कमाएको पैसा भन्दा आफ्ना परिवारका सँग बसेर बनाएका यादहरु बहुमूल्य हुने ढकाल बताउँछन् । ५०–५५ ड्रिगी तापक्रमको चर्को घाममा पसिना बगाउनु भन्दा नेपालकै चिसा पाखा पखेरामा काम गरेर सुन फलाउन सकिन्छ भन्ने विश्वास ढकालसँग रहेको छ ।

ढकालकी श्रीमती पनि विदेशमा बसेर भन्दा आफ्नो श्रीमान्ले नेपालमै बसेर सँगै दुख गर्दा माया र विश्वास बढेको बताउँछिन् । यसरी ढकालका दम्पति केबल प्रतिनिधि पात्र हुन् । नेपालमा बसेर केही गर्न सकिँदैन भन्नेलाई ढकाल गहकिलो उदाहरण हुन् ।

नेपालबाट दिनहुँ १६०० नेपाली विदेशिने गरेको तथ्यांक रहेको छ । गएको एक दशकमा मात्र ३५ लाख मानिसले श्रम स्वकृति लिएको तथ्यांक रहेको छ । यसरी विदेशिनेलाई रोकेर नेपाल सरकारले नै रोजगारी दिने वा ढकालझैं स्वरोजगार बन्न सघाउने हो भने विदेश भन्दा राम्रो कमाई यहीं छ ।

कमेन्ट गर्नुहोस्
Share: