साग महिला फुटबलमा भोलि नेपाल र श्रीलंका भिड्दै

Share:

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत हुने महिला फुटबलमा मंगलबार नेपालले पहिलो खेलमा श्रीलंकाको सामना गर्दैछ ।

नेपाल र श्रीलंका बीचको खेल पोखरा रंगशालास्थित फुटबल स्टेडियममा बिहान १० बजे सुरु हुनेछ । फुटबल स्टेडियमसमेत प्रतियोगिताका लागि भइसकेको छ ।

साग अन्तर्गत नेपालले श्रीलंकासँग आमनेसामने हुन लागेको यो पहिलो पटक भने होइन । ११ औं सागमा पहिलो पटक महिला फुटबलले प्रवेश पाएपछि नै यी २ देश परिचित प्रतिद्वन्द्वी बनेका छन् । तर, नेपालका लागि श्रीलंका बलियो प्रतिद्वन्द्वी भने मानिँदैन ।

सागको १२ औं संस्करण भारतमा भएको थियो । भारतको भारतको गुवाहाटीमा भएको खेलमा नेपालले श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

त्यसअघिका संस्करणमा पनि श्रीलंकाले नेपालमाथि दबाब कायम राख्न सकेको छैन । बंगलादेशको ढाकामा ११ औं संस्करणमा प्रवेश पाएको महिला फुटबल टोलीले त्यतिबेला पनि श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

श्रीलंकापछि नेपालले मंसिर १९ गते माल्दिभ्स र २१ गते भारतसँग प्रतिष्पर्धा गर्ने छ । सहभागी राष्ट्र थोरै र मैदानको अवस्थाका कारण पनि प्रत्येक खेलपछि १ दिन खेल रोकिएको छ ।

राउन्ड रोबिन लिगबाट शीर्षस्थानमा उक्लिने २ टिम मंसिर २३ गते फाइनलमा भिड्नेछन् । श्रीलंकासँग भिड्न नेपाली टोली तयार छ । अघिल्ला संस्करणमा भारतले नेपाललाई रजतमा रोक्दै आएको छ ।

पोखरा रंगशालामा हुने साग महिला फुटबलका लागि खेलाडीसहित सागका लागि ३७ जना अफिसियल टोली नेपालको प्रतिनिधित्व गर्नेछन् । १३ औं साग महिला फुटबल प्रतियोगितामा गोल रक्षकका रुपमा एन्जिला तुम्बापो, अञ्जना रानामगर र उषानाथ छन् ।

डिफेन्डरमा गीता राना, पुनम जर्घामगर, अमृता जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु र पुजा राना उभिनेछन् ।

मिडफिल्डरमा रेनुका नगरकोटे, दीपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जलीकुमारी योन्जन, विमल चौधरी छन् । परवार्डको जिम्मा सावित्री भन्डारी, निरु थापा, अनिता केसीले सम्हाल्ने छन् ।

कमेन्ट गर्नुहोस्
Share: