कीर्तिमानी अञ्जली भन्छिन् – ‘परिवारको साथले कमब्याक गरेँ, अब पछि हट्दिनँ’

Share:

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला क्रिकेट सोमबारदेखि पोखरा रङ्गशालामा सुरु भएको छ ।

पहिलो दिन भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित ग¥यो । यसो त यो खेल माल्दिभ्सको पहिलो अन्तराष्ट्रिय खेल थियो ।

पहिलो खेलमा नेपालका लागि डेब्यू गरेकी खेलाडी अञ्जली चन्द खेल सकिएपछि चर्चामा आइन् । कारण थियो नयाँ विश्व कीर्तिमान । उनले २.१ ओभर बलिङ गर्दै कुनै रन खर्च नगरी ह्याट्रिकसहित ६ विकेट लिइन् ।

२५ वर्षीया उनको यो प्रदर्शन क्रिकेट जगतमै निकै सम्झनलायक मानिएको छ ।

बिगखबरसँगको भेटमा उनले आफूले नसोचेको उपलब्धि हासिल गरेको बताइन् । टोलिमा परे पछि उनले सोचेकी थिइन् – ‘विकेट लिएर मेरो कला देखाउँछु ।’

राष्ट्रिय टिममा डेब्यू गर्न पाएपछि निकै खुसी लागेको र किर्तिमान रच्दा त झन् खुसी बढेको प्रतिक्रिया दिइन् । तर, उनको यो प्रदर्शन सजिलै भने हासिल गरेकी हैनन् ।

विवाह बन्धनमा बाँधिएको चार वर्षपछि उनले क्रिकेटमा पुनरागमन गरिन् र नयाँ किर्तिमान राख्न सफल भइन् । अञ्जली पहिलो खेलमा उमन अफ द म्याच पनि घोषित भईन् ।

प्रारम्भिक खेल जीवन

बैतडीमा जन्मिएकी अञ्जली कक्षा ८ सम्म पढ्दा क्रिकेटबाट निकै टाढा थिइन् । तर, कक्षा ८ मा पढ्दै गर्दा उनलाई क्रिकेटप्रति रुचि पनि बढ्दै गयो ।

आफ्नो दाई र छिमेकी दाईले क्रिकेट खेल्न प्रोत्साहन गरे । क्रिकेटमा सबैको साथ रह्यो । बैतडीमा जन्मेकी उनले त्यहीं खेल्न थालिन् ।

त्यसो त बैतडीलाई क्रिकेटको उर्वर भूमिका रुपमा पनि लिन सकिन्छ । बैतडीबाट राष्ट्रिय टिममा अटाएका धेरै खेलाडी छन् ।

परिवारले पनि अञ्जलीलाई राम्रै साथ दियो । बैतडीमा स्थानीय स्तरका खेल खेल्दै गइन् । क्रिकेट मोह बढ्यो ।

क्रिकेटको मोह यति बढ्यो उनलाई आफ्नो पढाइ भन्दा पनि क्रिकेट नै मन पथ्र्यो । उनी क्रिकेटका लागि कक्षा हाप्न पनि तयार हुन्थिन् । तर, पछि उनले पढाइमा आफ्नो मन लगाउँदै गइन् ।

पढाइमा व्यार्चलर्स पास गरिन् । यू–१९ खेलेपछि भने उनीसंग धेरै अवसरका लागि बाटो खुल्यो।

विवाह पछि रोकिएको क्रिकेट

खेल जीवन चलिरहँदा सन् २०१५ मा विवाह बन्धनमा बाँधिइन् । त्यसपश्चात् क्रिकेटबाट ओझेल परिन् । यद्दपी क्रिकेट प्रतिको माया मरेन ।

उनी क्रिकेटलाई फलो गरिरहन्थिन् । विवाह पछि पनि घरपरिवारबाट क्रिकेट खेल्न निकै साथ रह्योे ।

‘परिवारको साथले कमब्याक गरेँ, अब पछि हट्दिनँ,’ अञ्जली सुनाउँछिन् ।

वुमन्स लिग च्याम्पियन्सीपबाट क्रिकेटमा कमब्याक गरिन् । उनले वुमन्स च्याम्पियन्सीपमा पनि निकै उत्कृष्ट प्रदर्शन गर्न सफल भइन् । त्यस पछि सुरु भयो राष्ट्रिय टिमको यात्रा ।

राष्ट्रिय टिममा अटाउँदा उनीमा डेब्यू गर्ने सपना थियो । सपना विपनामा परिणत भयो । साथै किर्तिमानले थप हौसला दियो ।

किर्तिमानले दिएको खुसी

सोमबारको खेलमा किर्तिमान बनाएपछि आफु आफ्नो प्रदर्शनबाट खुसी रहेको बताइन् । पहिलो खेलमा २ विकेटसम्म लिने सोच थियो ।

सागमार्फत केबल आफ्नो सपना मात्र पुरा गरिनन्, नेपाली महिला क्रिकेटलाई पनि संसारभर चिनाउने काम गरिन् ।

आगामी दिनमा नेपाली क्रिकेटलाई अझ माथि पु¥याउन आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने बताउँछिन् । नेपाली क्रिकेटमा अझ बढी उपलब्धि हासिल गर्ने सपना देखेकी छिन् उनले ।

उनले २०२० मा हुने विश्वकप छनौटमा पनि नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै नेपाली क्रिकेट समर्थकलाई खुसी दिने वाचा गरिन् ।

‘क्रिकेट छाडे कुनै पनि पेशा अँगाल्न सक्दिन’

उनले नेपाली महिला क्रिकेटमा धेरै समस्या देखेकी छन् ।

नेपाली क्रिकेटका लागि सरकारले महिला क्रिकेटरका लागि पनि पुरुषको जतिनै सेवा सुविधा दिनु पर्ने र अझ बढी महिला क्रिकेटका घरेलु लिगलाई बढावा दिनु पर्ने ठान्छिन् ।

नेपाली महिला क्रिकेट अझै पनि सरकारको आँखामा पर्न नसकेको अञ्जली बताउँछिन् । क्रिकेट अझै जीविकोपार्जनको माध्यम बन्न नसकेको उनी गुनासो गर्छिन् ।

सीप नभएका कारण क्रिकेट छाड्दा अरु पेशाको लागि अयोग्य पनि हुने र क्रिकेटले जिविकोपार्जन सम्भव नभएकाले क्रिकेटरको जीविकोपार्जनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने उनको भनाइ छ ।

‘स्वर्ण जितेर गतिलो जवाफ फर्काउँछौं’

अहिले चलिरहेको साग क्रिकेटमा नेपालले स्वर्ण जित्ने उनको दाबी छ । बंगलादेश र श्रीलंका जस्ता टेष्ट राष्ट्रलाई पनि नेपाली महिला क्रिकेट बलियो रहेको देखाँदै उत्कृष्ट खेल्ने उनले बताइन् ।

अञ्जलीले भन्छिन्, ‘टेष्ट राष्ट्रलाई हराएर स्वर्ण जित्छौं ।’

घरेलु समर्थकको माझमा स्वर्ण जितेर सरकारलाई पनि गतिलो जवाफ दिने उनी बताउँछिन् ।

‘सरकारले महिला क्रिकेटलाई चिन्न सकेको छैन । स्वर्ण जितेर गतिलो जवाफ फर्काउँछौं,’ अञ्जलीले भनिन् ।’

  • प्रस्तुति – अनिष भट्टराई/अनुप पौडेल
कमेन्ट गर्नुहोस्
Share: