
पोखरा । १३ औं दक्षिण एसियायी खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा नेपाल बङ्लादेशसङ्ग पराजित भएको छ । बुधबार पोखरा क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको हो ।
५१ रनको सामान्य लक्ष्य बङ्लादेशले ७.४ ओभरमा बिना विकेटको क्षतिमा भेट्टायो । बंगलादेशका लागि ओपनर मुरसिदा खातुन र आइसा रहमानले क्रमश २३ र २६ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा अलआउट हुँदै ५० रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले सर्वाधिक १३ रन बनाइन् भने सोनु खड्काले १२ रन बनाइन् । अरु खेलाडीको प्रदर्शन उल्लेख्य रहन सकेन । ओपनर काजोल श्रेष्ठ र सीता राना मगर सस्तैमा आउट भएपछि नेपालको ब्याटिङ कमजोर बनेको थियो ।
काजोल जहानाराको बलमा खाता नखोली पभेलियन फर्किन् भने सीता पनि जाहानाराको बलमा ३ रनमै आउट भइन् । सोनु फहिमाको बलमा पभेलियन फर्किएकी थिइन् । यस्तै कप्तान रुबिना रबियाको बलमा आउट हुन पुगिन् । नेपालकी अर्की ब्याट्सवुमन इन्दु बर्मा सल्मान खातुनको बलमा १० रनमा आउट भइन् ।
करुना भण्डारी, सरिता मगर, अञ्जली चन्द र सरस्वती चौधरीले खाता खोल्न सकेनन् । अप्सरी बेगम ५ रनमा आउट भइन् भने ममता चौधरीले १ रन मात्र बनाउन सकिन् । बङ्लादेशका लागि रयिबा खानले सर्वाधिक ४ विकेट लिइन् भने जाहानारा आलमले २ विकेट लिइन् । यस्तै सल्मान खातुन र नमिदा अख्तरले १-१ विकेट लिए । खेलमा बंगलादेशकी रबिया खान वुमन अफ द म्याच बनिन्।
नेपालले अब अर्को खेल शुक्रबार श्रीलंकासँग खेल्ने छ ।
