
काठमाडाैं । १३ औं दक्षिण एसिायली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई सरकारले विशेष प्याकेजको घोषणा गरेको छ । बुधवार बालुवाटारमा सहभागी खेलाडीहरूमाझ प्रधानमन्त्रीले सागमा पदक विजेतालाई पुरस्कारको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ९/९ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । एकभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई भने ११ लाख दिइने भएको छ ।
त्यस्तै रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख दिने सरकारले घोषणा गरेको छ ।
सागअन्तर्गत फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही पाँच लाख दिइने छ । मंगलबार भएको फाइनलमा भुटानलाई २-१ अन्तरले हराउँदै नेपालले स्वर्ण जितेको थियो।
सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र कास्य ९५ गरी कुल २०६ पदक जितेको थियो । उद्घाटन सत्रमा प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको शल्यक्रिया गरी सघन उपचार कक्षमा स्वास्थ्य लाभ गरिरहेका थिए ।
प्रधानमन्त्री ओलीले मंगलवार साग समापनमा देखाइएको भिडियो सन्देशमा खेलाडीहरूलई बालुवाटारमा निम्तो दिएका थिए ।
