
पोखरा । गुरुङ समुदायले मंगलबार ‘तमु ल्होसार’ पर्व हर्षोल्लासका साथ मनाएका छन् । मंगलबार पोखरासहित देशभरका गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ल्होसार मनाए । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायले मृग वर्षको बिदाइ र मुसा वर्षलाई स्वागत गरेर आज तमु ल्होसार मनाएका हुन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएकोे तमु ल्होसार मूल आयोजक समितिले जनाएको छ ।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट वर्षको नामाकरण गरेका थिए । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो । पर्वको अवसरमा केन्द्र सरकारले कुनै बिदा नदिएपनि गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थियो । पर्वको अवसरमा पोखराका गुरुङ समुदाय पोखराको रामघाटमा भेला भएका थिए ।
तस्बिरमा हेर्नुहोस्::
तस्बिर-एन्जल गुरुङ/जक्सन डट्कम






