
पोखरा । पोखराको गैह्रापाटनमा रहेको स्टेसन द फुड क्लब एण्ड ससेज पार्क खाजाका पारखीमाझ निकै परिचित छ । डेढ दशक देखि सञ्चालित फुड स्टेसन अब नयाँ भवनमा सञ्चालनमा आउने भएको छ । माघ १ देखि नयाँ भवनमा केबल नयाँ परिकारका खाना मात्र नभई पोखराका खाजा पारखीले स्टेसनमा थ्रीडी कला पनि देख्न पाउनेछन् ।
चिप्लेढुगांमा स्ट्रिट फुडबाट सुरु भएको स्टेसनको यात्रामा थ्रीडी कलाले पोख्रेलीको मन जित्ने सञ्चालक आयुष श्रेष्ठको दाबी छ । नयाँ भवनका भित्ता आर्ट एक्जिविसनका रुपमा तयार पारिएको छ । १ करोड लगानीमा तयार पारिएको भवनका ६० वटा भित्तामा थ्रीडी आर्ट तयार पारएको छ । ३ महिना लगाएर बनाइएको भवनको भुइँतलालाई स्ट्रिट फुडको झल्को दिने गरी तयार गरिएको छ ।
भित्तामा कोरिएकाे कलाले ग्राहकको मन लोभ्याउने उनी बताउँछन् । त्यहाँ भएका सबै आर्ट हिमालय रोडिजका फर्स्ट रनरअप अनिमेश शाहीले बनाएका हुन् । स्टेशन सञ्चालनमा आएपछि नेपालकै पहिलो थ्रीडी आर्टसहितको फास्टफुड सेन्टर बन्नेछ । २४ जना कार्यरत कर्मचारी रहेको रेष्टुरेन्टले एकैपटकमा २ सय ग्राहकलाई सेवा दिने संचालक श्रेष्ठले जानकारी दिए ।
के हो थ्रीडी आर्ट ?
थ्रीडी आर्ट भनेको प्राकृतिक वा काल्पनिक वस्तुको डिजिटल प्रतिनिधित्व हो । यसलाई तीन आयामहरु जस्तै उचाई, चौडाई, र गहिराईमा बनाउने गरिन्छ । यस प्रकारको कलाकृतिलाई डिजिटल शिल्पकारको रूपमा सोच्न सकिन्छ। वस्तुको वरिपरि वा सर्कलमा बनाइएको फोटोहरूको शृंखला एक थ्रीडी मोडेलमा एकाक्रित हुन्छ।
यसको विकास १८ औँ शताब्दीमा भएको मानिन्छ । यसको प्रवर्धन भने १९ औँ शताब्दीमा बेलायतमा सडकमा बनाउन थालिएपछि भएको हो । २ डाइमेन्सनल फोटो नै एक कोणबाट हेर्दा थ्री-डी जस्तो देखिए पनि त्यसलाई थ्री डी आर्ट मानिँदैन ।




