
रेम बिक
पोखरा, १९ पुस । पोखरा एफएममा एकताका एउटा कार्यक्रम निकै चर्चित थियो, ‘स्टेशन पप’ । यो ६० साल ताकाको कुरा हो । कार्यक्रमको प्रस्तोता थिए, आयुष श्रेष्ठ ।
सानैदेखि दुखमा हुर्केका आयुषका लागि आफ्नो कार्यक्रम हिट भएपनि पैसाको अभावले भने सँधै पोल्थ्यो । एफएमको प्रस्तोताको रुपमा मानिसले चिन्थे तर गोजी रित्तै हुन्थ्यो । त्यसैले उनले केही काम गर्ने सोँच बनाए । के गर्ने ? शुरुमा उनलाई कुनै आइडिया नै आएन । पोखरा एफएमको चर्चित प्रस्तोता सानोतिनो काम गर्ने जाँगर झट्टै चलेन ।
तर नामले मात्रै खान दिए पो । उनी सानै भएपनि काम गर्न थाहन्थे । यद्यपि त्यो काम आफ्नै लगानीको होस् भन्ने उनको मान्यता थियो । ‘के गर्ने त ?’ दिमागमा एउटा आइडिया फु¥यो–‘ठेलामा ससेज बेच्ने’ ।
ठेलामा मधेसी समुदायकमा मानिसहरुले चटपट र चाट बेचेको देखिरहेका आयुषले केही फरक शैलीमा सोँचे । सानै देखि दुखमा हुर्केका अनि दुख बुझेका आयुषलाई भित्रैदेखि आत्मबल आयो, ‘अब जे गर्ने हो, यसैमा गर्ने हो ।’
ठेलामै ग्यास चुलो राखेर ससेज पोल्न पनि केही लगानी चाहिन्थ्यो । तर आयुषसँग थिएन । के गर्ने ? उनले साथीभाईसँग सल्लाह मागे । ‘मलाई मेरा साथीभाईको साथ मिल्यो । कतिले त सके तिर होईन भने जुवा नै सहि भनेर ५ देखि १० हजारसम्म दिए ।’ आयुषले व्वयसायको शुरुवाती दिन सम्झिए ।
शुरुमा उनले आफ्नो व्यवसायको नाम जुराए, ‘सिटी वान ससेज सेन्टर’ । उनले भिजिटिङ कार्ड यही नाममा बनाए । र, केही प्रति त आफ्ना चिनेजानेका मानिसलाई बाँडे पनि । यसरी बाँड्दै जाँदा उनीसँगै पोखरामा एफएममा काम गर्ने पत्रकार दीपक के श्रेष्ठको हातमा पनि उनको कार्ड प¥यो । तर कार्ड देख्नासाथ दीपकले नाक खुम्चाए । र, सल्लाह पनि दिईहाले । ‘हेर भाई तिमी स्टेशन पप भन्ने कार्यक्रम चलाउँछौँ । यो हिट पनि छ । तिमीलाई फापेको पनि छ । बरु तिम्रो ठेलाको नाम पनि स्टेशन नै राख । यो सुहाउँछ पनि ।’
आयुषलाई यो सल्लाह ठिक लाग्यो । आफूसँग भएको बाँकी भिजिटिङ कार्ड उनले फ्याँके । र, आफ्नो ठेलालाई स्टेशन नाम दिए । साँच्चै दीपकले भनेजस्तै भयो । उनको ठेलाले सफलता पायो । स्टेशन एकाएक पोखराको हिट ब्राण्ड बन्यो ।
ठेलाबाट शुरु भएको स्टेशन अहिले तीन तलाको एउटा पुरै भवनमा फैलिसकेको छ । पोखरा गैह«ापाटनस्थित स्टेशनको नयाँ भवन शनिबार मात्रै उद्घाटन भयो । थ्रीडि र ग्राफिटी आर्टले सजिएको भवन साँच्चै आकर्षक देखिएको छ । लामाचौरका अनिमेश शाही र उनको टिमले ३ महिना लगाएर यो आकर्षक आर्ट तयार पारेका हुन् ।
यात्रा अनि व्यवधान
शनिबार नयाँ स्टेशनको भवनमा पत्रकार सम्मेलनको आयोजना गरिरहँदा आयुषले पुराना दिन सम्झिए । ‘सानो दुखले म यहाँसम्म आईपुगेको होईन । र, यो यात्रा यहीँ रोकिनेवाला पनि छैन ।’ आयुषले भने ।
१५ वर्ष लाग्यो आयुषलाई यो स्थानसम्म आईपुग्न । ठेलाबाट शुरु भएको स्टेशनको यस्तो आउटलेट बन्ने कल्पना भने आयुषले त्यही बेला गरिसकेका थिए । गैह्रापाटनको यो आउटलेटकै लागि मात्र उनले १ करोडको हाराहारीमा लगानी गरेका छन् । त्यही भएर त उनी दुखमा पनि काम छाडेनन् ।
‘जस्तो दुखमा पनि जो कोही बुवाआमाले आफ्ना छोराछोरीलाई मिठै लगाईदिन र खुवाउन चाहन्छ । हो, स्टेशन पनि मेरो बच्चा हो । यसलाई जस्तै दुखमा पनि मैले जोगाईरहेँ ।’ आयुष केही भावुक पनि बने–‘नत्र यो बीचमा मैले कस्तो दुख र मानसिक तनाव भोगेको छु । जो कोही हुन्थ्यो भने कि पलायन हुन्थ्यो, नत्र आत्महत्या पनि गरिसक्थ्यो होला ।’
आयुष आफ्ना साथीभाईप्रति नतमस्तक देखिए । सँधै आफ्ना वरिपरीका मानिसहरुको साथ र सल्लाहले आफूलाई हौसला दिईरहने उनले बताए । त्यसैमाथि उनी आफ्नो जीवनसाथीबाट पाएको साथले अझै खुशी छन् ।
अबको यात्रा
स्टेशन ठेला त्यो बेलामा कलेजका विद्यार्थीहरुलाई लक्षित गर्दै खोलिएको थियो । सिमित पकेट खर्च लिएर खाजा खान आउने कलेज विद्यार्थीहरुका लागि अहिले पनि पहिलो रोजाई स्टेशन नै हो । र, नयाँ आउटलेट भएपनि उनले मेनु बढाएका छैनन् । बरु मेनुमा केही परिकारहरु भने थपेका छन् ।
स्टेशनको नयाँ आउटलेटबाट पनि ग्राहकले उही पुरानै स्वाद र गुणस्तर पाउने आयुष दाबी गर्छन् । ‘हामीले शुरुवातबाटै एउटै प्रकारको स्वाद ग्राहकलाई दिईरहेका छौँ । र, आगामी दिनमा पनि त्यही स्वाद अनि गुणस्तर ग्राहकले पाउनेछन् ।’
केही समय आयुष यही आउटलेटको व्यवस्थापनमा व्यस्त हुनेछन् । त्यसपछि भने उनको केही योजना छन् । स्टेशनको यही स्वाद र गुणस्तरसहितको आउटलेट विभिन्न ठाऊँमा खोल्ने । पोखराको लेकसाइडमा स्टेशनको नयाँ आउटलेट बनाउने उनको अबको योजना हो । त्यो बाहेक स्टेशनसँग फ्रेञ्चाइज अधिकार लिएर नेपालका अन्य शहरमा पनि आउटलेट बनाउनेहरुसँग सहकार्य गरिने उनले बताए ।
याे पनि : माघ १ गतेदेखि नयाँ भवनमा ‘स्टेसन’, हरेक भित्तामा देख्न पाइनेछ थ्रीडी आर्ट



