कांग्रेस संसदीय दलको बैठक आज बस्दै

Share:

काठमाण्डाै । सत्तारुढ नेकपाले सभामुखको उम्मेद्वार चयन गर्न नसकेपछि अवरुद्ध संसदबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। संसद बैठक अवरुद्ध हुँदा पनि प्रतिपक्षीका रुपमा कुनै प्रतिक्रिया जनाउन नसकेको भन्दै कांग्रेसको आलोचना भइरहेका बेला कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आज दलको बैठक बोलाइएको हो।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयबाट जारी गरिएको विज्ञप्ति अनुसार आज संसदीय दलको कार्यालय सिंहदरबारमा दिनको १ः३० बजे बैठक बस्ने छ । बैठकमा अवरुद्ध प्रतिनिधिसभा बैठक र सभामुख चयनबारे विचार विमर्श हुने सचेतक पुष्पा भुसालले जानकारी दिइन्। पुस ४ गते संसदको हिउँदे अधिवेशन सुरु भए पनि नेकपाभित्रको विवादका कारण त्यसपछि एउटा पनि बैठक बस्न सकेको छैन।

सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ। बुधबार मोरङ पुगेका सभापति शेरबहादुर देउवाले नेकपाले सभामुखको उम्मेद्वार छान्न नसके आफ्नो पार्टी छान्ने चेतावनी दिएका थिए। संसद अवरुद्ध भए पनि झण्डै एक महिनादेखि मौन रहेका देउवाले अब भने चुप नबस्ने संकेत स्वरुप बुधबारको प्रतिक्रिया आएको कांग्रेस नेताहरुको दाबी छ।

कमेन्ट गर्नुहोस्
Share: