
पोखरा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले माघ तेस्रो साता अमेरिका र ओमानसँग सिरिज खेल्दैछ । उक्त सिरिजका लागि नेपालले पोखरामा बन्द प्रशिक्षण गरिरहेको छ । टियु क्रिकेट मैदान र मुलपानी मैदानमा अहिले स्तरोन्नतीको काम भइरहेकाले नेपाली टोलीले पोखरामा बन्द प्रशिक्षण थालेको हो ।
सिरिज आउन अब १९ दिन मात्र बाँकी छ । सीमित समयका लागि पोखरामा भइरहेको प्रशिक्षण पनि अहिले बदलिँदो मौसमले प्रभावित बनेको छ । पोखरामा परिरहेको निरन्तरको झरिले गर्दा नेपाली टोलीले सोचे जति ‘अन द फिल्ड’ प्रशिक्षण पाएको छैन । टोली अहिले पोखरा रङ्गशालामा रहेको कभर्ड हलमा म्याट बिच्छ्याएर प्रशिक्षण गर्न बाध्य भएको छ ।
नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक ऋषिराम गौतम पोखराको मौैसमले बन्द प्रशिक्षणलाई चुनौती पूर्ण बनाएको बताउँछन् । ‘टियु र मूलपानीमा स्तरोन्नतीले खेल्न पाएनौँ,’ उनी भन्छन्, ‘पोखराको मौसमले बन्द प्रशिक्षणलाई च्यालेन्ज ग¥यो ।’ उनले पोखराको मौसमले गर्दा इन्डोर प्रशिक्षण थालेको बताए ।
इन्डोर प्रशिक्षणमा ब्याटिङ र बलिङको प्रशिक्षण गरेपनि पिचमा फिल्डिङको अभ्यास गर्न नपाएको गौतमले सुनाए । ‘बलिङ र व्याटिङको प्रशिक्षण गरेपनि पिच फिल्डिङको अभ्यास खेलाडीले पाएका छैनन् । गौतमले भने, ‘यसले राष्ट्रिय टोलीको प्रदर्शनमा नकरात्मक प्रभाव पार्नेछ ।’ व्यवस्थापक गौतमले नेपाली टोलीको छनौट पोखरामा नै हुने जानकारी दिए । पोखरामा खेलाडी छनौट गरेर सिरिजको एक हप्ता अघि काठमाडौँ जाने उनले बताए ।
पोखरामा भईरहेको बन्द प्रशिक्षणमा पुरा खेलाडी उपस्तिथ छैनन् । ग्लोबल आइकन तथा लेग स्पिनर सन्दिप लामिछाने अष्टे«लियामा बिग ब्यास लिग क्रिकेट खेलिरहेका छन् । प्रशिक्षणमा बोलाइएका केही खेलाडी इनरुवामा जारी मनमोहन स्मृति एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । सबै खेलाडी सामेल नहुँदा राष्ट्रिय टोलीको प्रशिक्षण अपुरो हुने समर्थकले आँकलन गरेका छन् । तर नेपाल क्रिकेट सङ्घका सचिव अशोक नाथ प्याकुरेल भने अनुपस्थित खेलाडीले अनुमति लिएर केही समयका लागि अनुपस्थित भएको बताउँछन् ।
सचिव प्याकुरेलले सन्दिप बिग ब्यास लिग सकेर नेपाल आउने जानकारी दिए । ‘सन्दिप बिबिएल सकेर नेपाल आउने कुरा छ ।’ प्याकुरेलले भने, ‘अष्ट्रेलिया जाने बेलामा नै प्रशिक्षणमा आउन ढिला हुन्छ भनेर जानकारी गराउनु भएको थियो ।’ यस्तै प्याकुरेलले मनमोहन स्मृति एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली नेपाल आर्मी र नेपाल पुलिसमा रहेका खेलाडीले पनि क्यान बाट अनुमति पाएको बताए ।
दुई विभागिय टोली उक्त प्रतियोगिताको फाइनलमा रहेको र उनीहरुले क्यानलाई ‘रिलिज लेटर’ पनि पठाएको प्याकुरेलले जानकारी दिए ।विश्वकप लिग-२ अगस्ट २०१९ देखि सुरु भएता पनि नेपालले भने बल्ल पहिलो सिरिज खेल्न लागेको हो। लिग(२ अन्तर्गत अमेरिका, स्कटल्याण्ड, ओमान, नामिबिया, युएई र पपुवा न्यु गिनीले खेलहरु खेलीसकेका छन्।
तस्बिर-प्रदीप राउत


