
पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ उर्फ दीपक मनाङे ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। कुटपीटको आरोपमा गएको बिहिबार पक्राउ परेका सांसद मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार ६ हजार रुपैयाँ धरौटीमा छाडेको हो ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरूङमाथि हातपात गरेपछि उनलाई पक्राउ गरिएको थियो । बिहिबार पक्राउ गरेपछि प्रहरीले उनलाई म्याद थप गर्न जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो । शुक्रबार प्रमुख जिल्ला अधिकारी रमेश केसीले अनुसन्धान गर्न भन्दै प्रहरीलाई दुई दिनको समय दिएका थिए ।
सांसद मनाङे र अध्यक्ष गुरूङ बीच विवादको श्रृङखला गएको मंगलबारदेखि शुरू भएको हो । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनको दिन थियो । उद्घाटन कार्यक्रममा सांसदको हैसियतले मनाङेलाई बोलाइएको थियो । तर मनाङ प्रतियोगिता स्थल छिर्ना साथ आक्रोशित बने । कारण थियो – आयोजकको लापरबाही ।
सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा आक्रोश पोखे । शुरूमा भनाभन भएपनि पछि मनाङेले अध्यक्ष गुरूङलाई झापड नै हाने । आफूले सबक सिकाउनका लागि झापड हानेको मनाङेले बताउँदै आएका छन् ।
हिरासतमा पु¥याउने मिलन सात दिन थुनामै
प्रदेशसभा सदस्य मनाङेलाई हिरासतमा पु¥याएका एन्फा अध्यक्ष गुरूङ भने अझै सात दिन प्रहरी हिरासतमा रहने भएका छन् । बैंकिङ कसुर तथा ठगीको उजुरी परेपछि प्रहरीले उनलाई गएको शुक्रबार पक्राउ गरेको थियो । आइतबार जिल्ला अदालत पोखराले अनुसन्धानका लागि सात दिनको समय दिएको हो । मनाङे पक्राउ परेको भोलिपल्टै उनी पक्राउ परेका थिए ।
ओम गौरा होटलका प्रोपाइटर हरिभक्त आचार्यको उजुरीमा उनलाई शुक्रबार पोखराको गैह्रापाटनबाट नियन्त्रणमा लिइएको थियो। प्रोपाइटर आचार्यले आफूलाई दुई लाख रूपैयाँ दिन बाँकी रहेको बताएका छन् । पटकपटक विवादमा आउने गरेका एन्फा अध्यक्ष गुरूङ पोखराकै एक व्यवसायी माथि हातपात गरेको विषय सेलाउन नपाउँदै प्रदेशसभा सदस्य मनाङेसँगको विवाद बाहिर आएको थियो ।
अध्यक्ष गुरूङले पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेललाई हातपात गरेका थिए । लेनदेनको विषय नमिलेपछि अध्यक्ष गुरुङले गएको हप्ता आइतबार पौडेलकै अवार्ड हाउसमा पुगेर हातपात नै गरे । उनी त्यसमा मात्र सीमित रहेनन् । आक्रोशित बनेका उनले ढुङ्गा नै ताके ।
‘कास्कीको हिरासतमा उडुस रहिन्छ, मलाई मनप¥यो’
एन्फा अध्यक्ष मिलन गुरूङले बेवकुफी गरेका कारण दुःख पाइरहेको बताउँदै सांसद मनाङले घटनालाई राजनीतिकरण गरिएको बताएका छन् । आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘त्यो मान्छे बेवकुफ लाग्यो मलाई । हामीले मुद्धा हाल्नुपर्नेमा आफैँ ठग्ने अनि आफैँ मुद्धा हाल्ने । अहिले आफैं दुख पाइरहेको छ, मैले त्यसलाई मुद्दा हालेको पनि छैन् । यो सामान्य विषय थियो । यसलाई राजनीतिक लडाइँ बनाइयो ।’
सांसद भएको हैसियतले पहल गर्न खोज्दा घटनाले अर्कै रूपले उनको भनाइ थियो । हिरासतको लामो अनुभव बटुलेका मनाङेले उडुस नलागेको भन्दै कास्कीको हिरासत मनपरेको प्रतिक्रिया दिए । उनले एन्फामा भइरहेको भ्रष्टाचार अब क्रमगत रूपमा बाहिर आउने उल्लेख गरे ।
उनले भने, ‘मलाई यहाँको हिरासत मन र्पयो, काठमाडौँमा उडुस अल्लि धेरै हुन्थ्यो तर यहाँ उडुस देखिनँ ।’ उनले हिरासतमा बस्दा आनन्द लागेको सुनाए । मनाङेले भने, ‘हिरासतमा मज्जै लाग्याे। रेष्ट गर्न पाएँ ।’
मनाङे र मिलनबीच भएको के ?
पोखराको भण्डारढिक खेलमैदानमा गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन हुँदै थियो । प्रतियोगितामा कोषाध्यक्षको जिम्मेवारी मिलन गुरुङलाई दिइएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही समयपछि उद्घाटन गर्दै थिए । विशेष अतिथिका रुपमा प्रदेशसभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) आइसकेका थिए । मुख्यमन्त्री पुगिसकेका थिएनन् ।
उद्घाटनको समय केही ढिला भएको थियो । आसनग्रहणका लागि मनाङेलाई बोलाइयो। मञ्चतर्फ जानेबेलामा मनाङे र एन्फा अध्यक्ष मिलन गुरुङबीच जम्काभेट भयो । सांसद मनाङे फायर थिए । मनाङबाट सहभागी डाँफे युवा क्लबको व्यवस्थापनका विषयमा मनाङेलाई आयोजकप्रति चित्त बुझिरहेको थिएन । एन्फाका केन्द्रिय अध्यक्ष नै कुट्छु भनेर मुर्मुरिरहेको बेलामा जिल्ला अध्यक्ष मिलनलाई देख्नासाथ उनले मनाङबाट आएको आफ्नो खेलाडीलाई किन अभ्यास मैदान र बस्ने ठाउँ नमिलाई दिएको ? भनेर प्रश्न गरे ।
जवाफमा एन्फा अध्यक्ष मिलनले अभ्यासका लागि प्रदेश प्रहरीको खेल मैदान भनिसकेको भने । खै त खेलाडीले अभ्यास गर्न पाएको ? नटेर्ने ? ढाँट्ने ? भन्दै दुई जनाबीच केहिबेर भनाभन भयो । करिब ५ मिनेट वादविवादपछि मनाङेले मिलनको छातीमा हात पु¥याए र धकेले । मनाङेले हात हालेपछि मिलन आफ्नो ज्यान बंग्याए । मिलनले छल्दा छल्दै मनाङेले मिलनको गोडामा हाने । भनेजस्तो नलागेपछि मनाङेले गालामै हाने । उनको प्रहार घाँटीतिर लाग्यो । सांसद गुरुङलाई प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा गुनासो थियो ।
याे पनि :
सांसद दीपक मनाङे ६ हजार धरौटीमा छुटे, मनाङेलाई हिरासतमा पुर्याउने मिलन अझै सात दिन थुनामै
एन्फा अध्यक्ष गुरूङ पक्राउ परेपछि मनाङेले भने – ‘जुन चिजलाई लडेको थिएँ सक्सेस भयो’ (भिडियो)
पोखरामा कुटाकुटः रामकृष्णलाई मिलनले, मिलनलाई दीपक मनाङेले कुटे (भिडियोसहित)
दीपक मनाङेलाई दुई दिन हिरासतमा राख्न प्रशासनको अनुमति
ठगी आरोपमा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ
सांसद मनाङेलाई अनुसन्धानका लागि म्याद थपिने
सांसद दीपक मनाङे लेकसाइडबाट पक्राउ
