
काठमाडौं । मकवानपुरको दुई स्थानमा रहेको एनसेल टावरमा आगजनी भएको छ। आइतबार राति भीमफेदी गाउँपालिकाको देउरालीमा रहेको एनसेल टावरमा आगजनी भएको हो।
आगजनीबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक रामबालक रायको नेतृत्वमा प्रहरी टोली पुगिसेकेको छ।
यस्तै, हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा रहेको एनसेलको टावरमा समेत आगजनी भएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली पुगेको छ। घटनाबारे अनुसन्धान शुरु गरिसकेको प्रहरीले जनाएको छ।
यता, सर्लाहीको परवानीपुर लालबन्दी नगरपालिका–१६ स्थित एनसेल टावरमा पनि बम विष्फोट गराइएको छ । आइतबार राती साढे १ बजेतिर बम विष्फोट भएको हो । विष्फोटबाट टावरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म तीन वटै घटनाको कसैले पनि जिम्मेबारी लिएको छैन । यद्यपी यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एनसेल टावरमा आगजनी र विष्फोट गरेकाले त्यही समूहले गरेको हुनसक्ने प्रहरीले शंका गरेको छ।
