
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको मुक्ति क्षेत्रमा स्की प्रतियोगिता आयोजना हुने भएको छ। हिउँ पर्यटन प्रवर्धन तथा मुस्ताङलाई स्की हबको रूपमा विकास गर्ने उद्देश्यसहित नेपाल स्की संघको आयोजनामा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप हुने भएको हो।
माघ १८ र १९ गते स्की खेल्ने तालिम र २० गते प्रतियोगिता हुने छ । स्की हिउँमा खेलिने खेल हो । मुस्ताङमा आयोजना गरिएको स्की खेल प्रतियोगिताले मुस्ताङको बेमौसमी व्यापारको घाटालाई पुर्ति गर्नुका साथै खेल पर्यटनमा सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ ।
हाइअल्टिच्युड साहसिक स्की खेल्न मुस्ताङ उपयुक्त स्थान भएकाले संघले यस पटक पनि प्रतियोगिता गर्न लागेको संघका महासचिव विजय श्रेष्ठले जानकारी दिए। नेपालको इतिहासमा स्की प्रतियोगिता गराएको हालसम्म तीन वर्ष भएको छ ।
यो पनि : यस्तो रह्यो मुक्तिनाथको स्की (तस्बिरमा हेर्नुहोस)
दुई वर्षअघि रसुवाको लाङटाङमा, गत वर्ष मुक्तिनाथमा र यसपालि पनि मुक्तिनाथमै गर्न लागिएको हो । मुस्ताङ जिल्ला अरू जिल्लाभन्दा भौगोलिक दृष्टिकोणले सहजता, यातायात, होटल र स्की खेल्न चाहिने सबै प्रकारको पूर्वाधार भएकाले च्याम्पियनसिपका लागि मुस्ताङ छनोट गरिएको हो।
यसपटक नेपाल भ्रमण वर्ष सुरु भइसकेकाले त्यसलाई पनि सफल पार्न यसपटक भव्य रूपमा प्रतियोगिता गर्ने तयारी संघले गरेको छ। नेपालमा हिउँ पर्यटनको सम्भावना बलियो बनाउने सन्देशसहित संघले तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप गर्न लागेको हो।





