सांसद अधिकारीको प्रश्न : थप जग्गा अधिग्रहण गर्ने कुरा सत्य हो ? उचित मुआब्जा दिइन्छ कि दिईदैन ? (अडियो)

Share:

पोखरा । कास्की क्षेत्र नम्बर-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि थप जग्गा अधिग्रहण गर्ने बारे यथार्थ जानकारी गराउन माग गरेका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद अधिकारीले अधिग्रहण बारे जानकारी गराउन सदनमार्फत सरकारसँग माग गरेका हुन् ।

उनले भने, ‘पोखरा अन्तराष्ट्रिय विमानस्थलका लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्ने कुरा सत्य हो ? उचित मुआब्जा दिइन्छ कि दिईदैन ? अब थप अधिग्रहण गर्ने कार्यक्रम छ कि छैन ? एअरपोर्टको तल्लो क्षेत्रमा रहेको हजारौ हेक्टर जग्गाको सिंचाईको व्यवस्था के हुन्छ ? परियोजनाको वातावरण अध्ययन मुल्यांकन प्रतिवेदन किन सार्वजनिक गरिदैन ?’

विस्तृत प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उनले मध्य पहाडी लोकमार्ग कास्कीको रुदीखोलादेखि भैंसे सम्मको टेण्डर किन रोकिएको भनेर प्रश्न गरे । ‘यो तुरुन्त खुलाईयोस् । रुपाताल परियोजनाको सम्पुर्ण कार्य सञ्चालन गरियोस्’ उनको माग छ ।

मंसिरमा जारी गरिएको जग्गा अधिग्रहणसम्बन्धी सूचनाले अहिले स्थानीयको निद्रा उडेको छ । सो सूचनामा विमानस्थलका लागि थप १४८ रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरिएको उल्लेख छ । यसपटक दक्षिण पूर्वमा १ सय ६ रोपनी र उत्तरपूर्वतर्फ ४२ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ । दुईपटकसम्म आफ्नो जग्गा दिएका परियोजना प्रभावित अब भने जग्गा नदिने अडानमा छन् ।

सम्बन्धित सामाग्री – अधिग्रहणले उठीबास : ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अब एक इन्च जग्गा दिन्नौँ’

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शुन्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए थिए । बैठकका सांसद गजेन्द्र नारायण महतले छाउगोठ भत्काइएकोमा गम्भीर आपत्ति जनाए । उनले गृहमन्त्रालयले काम नपाएर छाउगोठ भत्काउँदै हिँडेको आरोप लगाए । छाउगोठको नाममा सरकारले आफूहरुको घर भत्काएको उनको आरोप छ ।

‘हाम्रो गाँउ घरतिर उखान छ । काम नपाए बुहारी कुकुरको पुच्छर कन्याउ । अहिले हाम्रो गृहमन्त्रालय यस्तै छ । छाउ गोठको नाममा घर भत्काइएका छन् । एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ ?’ उनको प्रश्न छ । उनले छाउगोठ भत्काएकोप्रति आफ्नो भनाई राख्दै गर्दा प्रतिनिधिसभा बैठक हासोले गुञ्जयमान भएको थियो ।

छाउगोठको अन्त्य गरिनुपर्ने भनेर कुरा उठाउने महिला सांसदहरुले नै हासो थाम्न सकेका थिएनन । सुन्य समयमा बोल्दै अन्य सांसदहरुले पनि आ आफ्नो क्षेत्रगत र समसामयिक विषयमा सम्बन्धीत क्षेत्रको ध्यानाकर्षण गराएका छन् । सांसद कुमारी तुलसी थापाले हिउँदे बालीमा तुसारो र बेमौसमी पानीले खेती बालीलाई नोक्सानी पुगेको भन्दै किसानलाई राहतको व्यवस्था गर्न माग गरेकी छन् ।

यो पनि – पोखरा नाकाबन्दीको घेरामा पर्ने देखियो: सांसद अधिकारी (अडियो)

कमेन्ट गर्नुहोस्
Share: